• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • ओली र लेखकलाई मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा छाड्ने? प्रहरी परामर्शमा

    ओली र लेखकलाई मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा छाड्ने? प्रहरी परामर्शमा

    काठमाडौं । जेन्–जी आन्दोलनका क्रममा भएको लापरबाही र प्रदर्शनकारीको मृत्यु प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाड्ने भन्ने विषयमा प्रहरीले कानुनी परामर्श सुरु गरेको छ।

    सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बुधबारभित्र अनुसन्धान सकेर मुद्दा दायर नभए उनीहरूलाई थुनामुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चले उनीहरूको म्याद थप नगर्न आदेश दिएकाले आजै मुद्दा दायर नभएमा प्रहरीले दुवै नेतालाई रिहा गर्नुपर्ने कानुनी बाध्यता छ।

    प्रहरी र सरकारी वकिलको तयारी

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार हाल सरकारी वकिलको कार्यालयसँग यसबारे सघन छलफल भइरहेको छ। “हामी परामर्शमै छौँ, सरकारी वकिलसँगको छलफलपछि मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउने भन्ने निर्णय हुनेछ,” उनले भने।

    गत चैत १४ गते पक्राउ परेका ओली र लेखकको बयान प्रक्रिया भने पूरा भइसकेको छ। अनुसन्धान पूर्ण भएको अवस्थामा सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गर्न सक्छ। यद्यपि, अनुसन्धान अधुरै रहेमा उनीहरूलाई हिरासत बाहिरै राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सर्वोच्चको स्पष्ट निर्देशन छ।

    परमादेशमा भनिएको छ, “काठमाडौं जिल्ला अदालतबाट २०८२/१२/२२ मा भएको आदेशअनुसारको अवधिमा अनुसन्धान सकिए सोहीबमोजिम र नसकिए तेस्रोपटकको म्याद समाप्त भएपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हिरासतमुक्त गरी थप अनुसन्धान अघि बढाउनू।”

    अबको सम्भावित परिदृश्य

    यदि प्रहरीले आजै मुद्दा दायर गरेमा अदालतमा बयान र थुनछेक बहस सुरु हुनेछ, जसका कारण उनीहरू थप केही दिन थुनामा रहन सक्छन्। तर, सरकारी वकिलले अनुसन्धान अपुग भएको ठहर गरेमा उनीहरूलाई हाजिरी जमानीमा छाडिनेछ र मुद्दाको अनुसन्धान हिरासत बाहिरबाटै जारी रहनेछ।

    यसअघि अदालतले उनीहरूलाई सुरुमा पाँच दिन, त्यसपछि दुई दिन र अन्तिम पटक आइतबार थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २५, बुधबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP