• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • जेनजी आन्दोलनमा मारिएका मध्ये ३४ जनामाथि गोली प्रहार

    जेनजी आन्दोलनमा मारिएका मध्ये ३४ जनामाथि गोली प्रहार

    गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका अधिकांशलाई कम्मरभन्दा माथि गोली हानिएको खुलेको छ । त्रिवि टिचिङ अस्पतालको पोस्र्टमार्टम रिपोर्टअनुसार मृतकमध्ये ३४ जनालाई गोली लागेको र अधिकांशलाई कम्मरभन्दा माथि गोली हानेको पाइएको हो ।

    रिपोर्ट भन्छ: तीव्र गतिको घातक हतियार चलाइयो

    प्रहरीले कम्तीमा १ मिटर टाडाबाट गोली हानेर मारेको पाइएको रिपोर्टमा उल्लेख छ । अस्पतालको फरेन्सिक विभागले काठमाडौंमा मारिएका ४८ जनाको पोस्टमार्टम गरेकामा ३४ जनालाई गोली लागेको भेटिएको रिपोर्ट तयार पारेको छ । सो रिपोर्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी परिसर काठमाडौं, गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोग र मानवअधिकार आयोगमा बुझाइएको फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।

    चौधरीका अनुसार ११ जनाको टाउकामा गोली लागेको छ भने १६ जनालाई छातीमा गोली प्रहार गरिएको छ । चार जनालाई पेटमा गोली प्रहार गरेर मारिएको छ भने तीन जनालाई घाँटीमा गोली हानेको पाइएको छ ।

    रिपोर्टले आन्दोलनका क्रममा उच्च गतिमा गोली चल्ने घातक हतियार प्रयोग गरिएको देखाएको छ । अस्पतालले रिपोर्टमै यो विषय उल्लेख गरेको छ ।

    डा. चौधरीका अनुसार पेस्तोलबाट लागेको गोली र बन्दुकबाट लागेको गोलीमा घाउको प्रकृति फरक हुन्छ । उनका अनुसार पेस्तोलबाट लागेको गोली शरीरभित्र एक लाइन चिरेर जान्छ भने उच्च गतिको बन्दुकबाट प्रहार भएको गोलीले लागेको स्थानवरिपरिका अंगहरूमा समेत क्षति पुग्छ । यस्तो हतियारबाट प्रहार गरिने गोली प्रतिसेकेन्ड १ हजार २ सय मिटरभन्दा बढी गतिमा जान्छ ।

    गोली लागेर ज्यान गुमाएका ३४ जनामध्ये कसैको पनि शरीरबाट सग्लो गोली निस्किएको छैन । पोस्टमार्टम गरिएकामध्ये नौ जनाको शरीरबाट गोलीको छरिएका टुक्रा फेला परेका छन् ।

    फेला परेका गोलीका टुक्रा परीक्षण गर्न अस्पतालले प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । कुन बन्दुकबाट गोली चलेको भन्ने थाहा पाउन यसको प्रयोगशाला परीक्षण गर्नुपर्ने अस्पतालको भनाइ छ ।

    गोली लागेका मध्ये एक जनाबाहेक सबै जेनजी पुस्ताकै रहेको देखिएको छ । गोली लागेर मृत्यु भएकाहरू १६ वर्षदेखि ६४ वर्षसम्मका छन् ।

    कुटेरै मारियो तीन जना प्रहरी
    जेनजी आन्दोलनक्रममा काठमाडौंमा मृत्यु भएका तीन जना प्रहरीमाथि कुटपिट भएको रिपोर्टमा उल्लेख छ । तीनै जनाको मृत्यु कुटपिटबाट भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

    आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, प्रहरी जवान उत्तम थापा र कोटेश्वरका सहायक हबलदार अमृत गुरुङको मृत्यु भएको थियो ।

    तर, रिपोर्टले उनीहरूलाई कुटेर हत्या गरेको देखाएको छ । हत्या अभियोगमा केहीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १४, शुक्रबार ०१:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP