भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ।
बैठक मंगलबार दिउँसो एकबजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको नेता लीलामणि पोख्रेलले जानकारी दिए।
नेकपा एकीकृत समाजवादीसहित नौवटा वाम दलबीच हुन लागेको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको उनले बताए।
आजको बैठकमा नेताहरूलाई बोल्ने समय भने छुट्याइको छैन। बैठक आजै सक्ने तयारी छ।
माओवादी र एकीकृत समाजवादीसहतिका वाम दलबीचको एकतालाई लिएर दुवै पार्टीभित्र विवाद छ। माओवादी केन्द्रका जनार्दन शर्मा र एकीकृत समाजवादीका झलनाथ खनालसहितका नेताले एकताप्रति असहमती जनाएका छन्।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नेता जनार्दन शर्माले प्रचण्डसँगको ४० वर्षे सहकार्य अन्त्य गर्ने निर्णय सुनाउँदै अब आफू आफ्नो ढंगले अघि बढ्ने बताएका छन्।
प्रतिक्रिया