काठमाडौँ । नेपाली राजनीतिमा ७ दशक पुरानो इतिहास बनाएका नेपाली कांग्रेस र नेकपा एमाले विचारमा मात्र होइन, शक्तिमा पनि प्रतिस्पर्धी हुन् । यी दुई दल मुलुकका राष्ट्रिय मुद्दामा प्रायः एकै ठाउँ उभिने गरेको इतिहास छ ।
राणा शासनदेखि पञ्चायत फाल्ने होस् वा २०६२/०६३ मा राजा र राजसंस्था हटाउने विषयमा नै किन नहोस् दुवै दलले आपसमा सहकार्य र आन्दोलन गरेका थिए । ती आन्दोलनमा उनीहरू नै अग्रमोर्चामा उभिँदै आएका थिए ।
जेनजी पुस्ताले गत भदौमा सुशासन र सामाजिक सञ्जाल नियन्त्रणको विरोधमा आन्दोलन सुरु गर्दा पनि एमाले–कांग्रेस नै सरकारमा थिए । २७ घण्टाको उक्त जेनजी आन्दोलनले दुवैलाई सत्ताबाट सडकमा पुर्याइदियो । आन्दोलनकै बलमा नागरिक सरकार बन्यो, चुनाव घोषणा भयो । यी दलका शीर्ष नेता भने अहिले बयान दिइरहेका छन् । उनीहरुविरुद्ध युवापुस्ताको आक्रोश अझै साम्य भइसकेको छैन । सत्ताबाट सडकमा पुगेपछि नेकपा एमालेले ११औँ महाधिवेशन गर्यो र अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई नै नेतृत्वमा पुर्याएर जेनजी आन्दोलन ‘कुनै आन्दोलन वा विद्रोह’ नभएको भनेर संस्थागत रूपमै जवाफ दिने चेष्टा गरिसक्यो ।
भदौको त्यही आन्दोलनलाई हेर्ने दृष्टिकोणबारे कांग्रेस अहिलेसम्म अनिर्णीत जस्तै देखिन्छ । कांग्रेसमा पनि जेनजी विद्रोहपछि नेतृत्व हस्तान्तरण र रूपान्तरणको बहस नभएको होइन । पार्टी विधानका कारण सभापति शेरबहादुर देउवाले आगामी कार्यकालमा नेतृत्वमा दाबी नगरेपनि कांग्रेसले नियमित महाधिवेशन कि विशेष भनेर असोज महिनायता लगातार छलफल गरेपनि टुंगो लगाउन सकेन । कहिले सक्रिय सदस्य त कहिले समय अभाव भन्दै लम्बिएको कांग्रेसको आन्तरिक किचलोले पुसको मध्य ठन्डीमा तताइरहेको छ ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार अचानक नियमित महाधिवेशन असम्भव भएको दाबी गर्दै त्यसलाई स्थगन गरेको घोषणा गर्न पुगे । महामन्त्रीद्वयको उक्त घोषणा र मक्सद विशेष महाधिवेशनमार्फत कांग्रेसले अव नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने हो । तर महामन्त्रीद्वयको यो निर्णय कति प्राधिकारयुक्त हो भन्ने सवाल संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षबाट नउठाएको भए कांग्रेस विशेष महाधिवेशनमा एकमत भएर जानसक्थ्यो ।
तर, अवस्था महामन्त्रीद्वयले भनेजस्तो सजिलो छैन । किनभने संस्थापन पक्षले केन्द्रीय कमिटीले गरेको निर्णय दुई नेताले काट्न नसक्ने तर्क अघि सारेर उनीहरूको घोषणा र योजना स्विकार्न नसक्ने बताइसकेका छन् । यही विवादलाई निरूपण गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । यो बैठकमा पदाधिकारीसहित केही वरिष्ठ मनोनीत नेताहरू पनि सहभागी हुने व्यवस्था छ ।
कांग्रेसमा पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ जना पदाधिकारी हुन्छन् । जहाँ विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने टुंगो लगाउने प्रयास हुनेछ । तर, घटनाक्रमहरू नियाल्दा विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर एकै ठाउँमा अट्न सक्ने अवस्था देखिँदैन । यस्तो अवस्थामा कि त एक पक्षले अर्को पक्षसँग निःशर्त मिल्ने स्थिति पनि देखिँदैन । जसले गर्दा पार्टी विभाजनबाट रोकिएला भन्ने झिनो आशामात्र गर्न सकिन्छ ।
यो त भयो कांग्रेसको आन्तरिक कुरा तर, कांग्रेसभित्रको विवाद त्यहाँमात्र सीमित छैन । यसको बाछिटा एमालेसम्मै पुगेको छ । जनेजी विद्रोहलाई हेर्ने नजर र त्यसपछि उदाएका नयाँ शक्तिका सवालमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको लगभग उस्तै नजर छ । सोही कारण उनीहरू अझै पनि सहकार्यलाई निरन्तरता दिने प्रयत्न गरिरहेका बेला अचानक कांग्रेसमा बढेको विवाद र पार्टी विभाजनको संकेतले एमालेलाई चिन्ता बढेको हो ।
माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिलेर चुनाव लड्ने योजना बनिरहेका बेला कांग्रेसमा महामन्त्रीद्वयले ल्याएको भूकम्पले एमालेमा बेचैनी सुरु भएको छ ।
‘जनेजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कांग्रेसको संस्थापन र एमालेमा खासै भिन्नता थिएन’, एक एमाले नेता भन्छन्, ‘सोही कारण संविधान र लोकतन्त्र बचाउने सवालमा एक ठाउँ उभिने ओली र देउवाबिच भद्र सहमति थियो जसले निर्वाचनसम्मै सहकार्य हुनसक्छ भन्ने बुझाई महामन्त्रीहरूको पछिल्लो कदमले खण्डित पारिदियो । यसले एमालेलाई स्वाभाविक रूपमा चिन्ता थपेको छ ।’
प्रतिक्रिया