काठमाडौँ, ३ असार । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुखको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालले दलीय लिप्तता त्याग्न नसकेको आरोप लगाएको छ भने रास्वपाले त्यसको प्रतिवाद गरेको छ ।
कांग्रेस सांसद चन्द्रमोहन यादवले सभामुख अर्यालले रास्वपासँगको पुरानो सम्बन्ध तोड्न नसक्दा संसद्को गरिमा गिरेको तर्क गरे । प्रधानमन्त्री बालेनले केही समयअघि संसद्मा ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भनी दिएको बयानमाथि सभामुखले रुलिङ गर्नुपर्ने माग यादवको थियो । सदनको ध्यान तान्दै उनले सभामुख रास्वपाको इसारामा चलेको गम्भीर आरोप समेत लगाए ।
यस लगत्तै रास्वपाका सांसद गणेश कार्कीले संसद्को नियमावली समातेर नियमापत्ति गरे । नियमावली अनुसार नियमानुसारको प्रस्ताव बिना सभामुखको आलोचना गर्न नपाइने भन्दै कार्कीले कांग्रेस सांसदको भनाइ संसद्को इतिहास (रेकर्ड) बाटै मेटाइनुपर्ने माग गरेपछि संसद्मा केही बेर बहस चर्किएको थियो ।
प्रतिक्रिया