• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

    मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

    मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएका छन्।

    मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सदनमा सम्बोधन गर्दै यसअघिका मुख्यमन्त्रीले पनि प्रदेश प्रमुख कार्यालयमा शपथ नखाएको जिकिर गरे।‘मभन्दा अघि चार जना मुख्यमन्त्री हुनुभएको थियो, उहाँहरू सबैले फरक फरक स्थानमा शपथ खानुभएको थियो,’ यादवले भने, ‘एक जना मुख्यमन्त्रीज्यूले खेलकुदको ग्राउन्डमा शपथ खानुभयो। अर्का मुख्यमन्त्रीज्यूले हलमा शपथ खानुभयो। अर्का मुख्यमन्त्रीज्यूले मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा शपथ खानुभयोअनि अर्का मुख्यमन्त्रीले हलमा शपथ खानुभयो। मुख्यमन्त्रीले कहाँ शपथ खायो? भन्ने विषय सरोकारको विषय होइन।’

    उनले आफ्नो बाध्यात्मक नियुक्ति भएको कारण विश्वासको मतको चिन्ता नलिएको बताए। आफू ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेको बताउँदै उनले जनताप्रति उत्तरदायी भूमिका खेलेको दाबी गरे। उनले आफू मुख्यमन्त्री भएर जति दिन सम्हाले पनि त्यो संविधानको रक्षाको लागि अडिक भएर लागेको बताए। ‘संविधानको धारा १६८ को उपधारा ३ अन्तर्गत बनेको सरकारले काम गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न धेरै उठ्यो,’ उनले थपे, ‘जति समय मिल्यो, त्यति समय प्रदेशबासी जनताको लागि काम गरेकै हो।’

    उनले अप्ठ्यारो अवस्थामा पनि साथ दिने नवनियुक्त तीन मन्त्रीलाई धन्यवाद दिए। एक सय सात सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ। उनको पक्षमा विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिएका हुन्।

    मधेस प्रदेश सभामा एमालेको २५ सिट छ। उनी कात्तिक २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १७, बुधबार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP