नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाविधेशन केही दिनअघि सम्पन्न भएको छ। काठमाडौँमा मंसिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको महाधिवेशनले अरू थप ३ दिनको समय लियो।
भक्तपुरको सल्लाघारीमा सम्पन्न समुद्घाटन समारोहबाहेक महाधिवेशन राजनीतिक र वैचारिक बहस–विमर्शभन्दा बढी नेतृत्व निर्माणमा केन्द्रित रह्यो। तीन महिना अघिमात्र ललितपुरको गोदावरीमा सम्पन्न भएको दोस्रो विधान महाविधेशनकै निरन्तरताजस्तो भयो यो महाधिवेशन पनि।
विधान महाधिवेशनलगत्तै हामीले जेनजी ब्यानरमुनि उभिएको अराजक पंक्तिबाट भयावह र डरलाग्दो आततायी बेहोरेका थियौँ। यसको प्रभाव कमसेकम पहिलेको पुस्ताले बिर्सँदैन। तथापि, विद्यमान राष्ट्रिय राजनीति, यसमा आफ्नो राजनीतिक भूमिका, यससम्बन्धी अध्ययन-मनन, चिन्तन र विश्लेषण आदि केही भएन।
हामीलाई महाधिवेशन सामग्रीका रूपमा झोलामा उपलब्ध गराइएका वस्तुमा लेख्न कपी र डटपेन थिएन। यसबाट पनि यथेष्ट शब्दार्थसहित भन्न सकिन्छ– पढ्ने, लेख्ने र विचार विश्लेषण गर्ने आदि कर्म यसपटक भएन।
कार्यक्रमको औपचारिकता पूरा गर्न कर्मकाण्डका सामान्य उपाय अवलम्बनसँगै नेतृत्व निर्माणसम्बन्धी प्रक्रिया आरम्भ भयो। नेतृत्व निर्माणका लागि महाधिवेशनको हलले पार्टी जीवनको लोकतान्त्रीकरणको अभ्यासलाई अवलम्बन गरेको थियो।
विद्युतीय भोटिङ प्रणाली अपनाएका थियौँ। पट्यारलाग्दो लामो हाम्रो निर्वाचन तौरतरिका भए पनि उत्साहमाझ सम्पन्न निर्वाचन कार्यतालिकाले एउटा परिणाम दियो। तेस्रो पटकका लागि कमरेड केपी शर्मा ओली फराकिलो मतान्तरसहित अध्यक्षमा निर्वाचित हुनुभयो। अध्यक्षका प्रत्याशी कमरेड ईश्वर पोखरलेसहित हामी कयौँले पराजय स्वीकार गर्दै अघि बढ्यौँ।
म काठमाडौँ छँदै पुस ४ गते एघारौँ केन्द्रीय कमिटीको पहिलो बैठक बस्यो। हामीले हाम्रो पहुँचमा भएअनुसार रेडियो, टेलिभिजन, विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत थाहा पायौँ– पुसको अन्तिम साता केन्द्रीय कमिटीको अर्को बैठक बस्नेछ। यससम्बन्धी तयारी सचिवालयले गर्नेछ। नेतृत्वको कार्यक्षेत्र निर्धारण, विभाग गठन, मनोनयन, सल्लाहकार परिषद् निर्माणको खाका सचिवालयले गर्नेछ, आदि।
सामान्यतः आफूसँगै चुनावमा हारेकालाई सल्लाहकार बनाउने वा सल्लाहकार परिषद् नामको संरचनामा लगेर थन्क्याउने (सल्लाहकार नामको भिडलाई डम्पिङ सेन्टरजस्तो बनाउने) हाम्रो अत्यन्तै भद्दा अभ्यास र प्रचलन छ।
यो तरिका मतदाताको मतको अपमान गर्ने र अवैज्ञानिक छ। यससम्बन्धी मेरो सैद्धान्तिक, वैचारिक र व्यावहारिक मत अलि फरक रहँदै आएको छ–
१) नेकपा (एमाले) को संगठनात्मक जीवन निर्माणको प्रश्नलाई बडो वैज्ञानिक ढंगले छिचोल्दै हामीले अंगीकार गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ले आवाजविहीन नागरिकको आवाजका रूपमा पार्टीलाई उभ्याउँदै आधारभूत मतदाताबाट जनअनुमोदित जनप्रतिनिधि, आमपार्टी सदस्यबाट अनुमोदित कार्यकर्ता र कार्यकर्ताबाट अनुमोदित नेता नेतृत्वको वकालत गर्छ, पक्षपोषण गर्छ र सगर्व बहस–पैरवी गर्छ।
यसकारण यसपटक हामी जो–जति चुनावमार्फत पराजित भयौँ, अनुमोदनमा पर्न सकेनौँ, अनुमोदित भएनौँ। सिद्धान्ततः चुनावमा पराजित भएकालाई वा हारेकालाई जितेकाको चालु कार्यकालकै लागि सो सरह जिम्मेवारीमा पुनः ल्याइने, पदस्थापन गरिने र मनोनयन गरिने विषय तर्कसंगत रहँदैन।
हुनत: यो सैद्धान्तिक आधारशीला निर्माण गर्नुहुने विचारसम्मत व्यवहारका प्रतिपादक जननेता मदनकुमार भण्डारी आफ्ना कटुआलोचकदेखि प्रतिस्पर्धीलाई सँगसँगै लिएर हिँड्नुहुन्थ्यो, अहिले त्यो छैन। भर्खरै सम्पन्न शपथ ग्रहण समारोहमा अध्यक्षका प्रत्याशीलाई डाक्नसमेत आवश्यक ठान्नुभएन।
२) जनताको बहुदलीय जनवादले नेता बन्न चाहने प्रत्येक व्यक्ति–व्यक्तिबीच नेता र नेतृत्व निर्माणको प्रश्नमा कार्यकर्ताको स्वीकारोक्ति चाहन्छ, सार्वभौम अधिकारसम्पन्न महाधिवेशन प्रतिनिधिको सहमति खोज्छ, सहमतिको पनि अनुमोदन खोज्छ, सहमति नभए परस्पर चुनाव खोज्छ, यस प्रक्रियामा चुन्ने र चुनिन पाउने स्वयं प्रतिनिधिको जिम्मेवारीसहित मौजुदा कार्यकर्तालाई यससम्बन्धी सार्वभौम अधिकार सुम्पिएको छ।
अमुक पदका लागि अमुक व्यक्तिको अमुक व्यक्तिसँगको प्रतिस्पर्धा हुनुपर्ने तर हामीले प्यानल बनायौँ। उहिले कहिलेदेखि नेपाली कम्युनिष्ट आन्दोलनको नेता भनेको केपी शर्मा ओली हो भनेर उभिनेहरू उहाँ तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिन बनेको प्यानलमा पर्न सकेनौँ, मजस्ता धेरै परेनौँ।
प्रत्येक प्यानलले कुनै एक जनाको फेर समायो होला! त्यो फेरले अर्कोलाई पगरी गुथायो होला तर जुन कुनै प्यानलआबद्ध व्यक्तिको विशिष्ट योग्यता, क्षमता र कार्यदक्षता गौण बन्यो।
अमुक नेताका लागि अर्को अमुक नेताले समर्पण गरिदिनुपर्ने, सहिद बनिदिनुपर्ने, बलिवेदीमा चढिदिनुपर्ने अवस्था सिर्जना भयो। फलतः कार्यकर्ताका नजरमा आशलाग्दो पात्र उपयुक्त जिम्मेवारीमा आउन सक्नुभएन। कि नाङ्गो–उदाङ्गो भयो कि पराजित भयो। यसकारण पनि हारेका व्यक्तिलाई पुनः जिम्मेवारीमा ल्याइने विषय वैचारिक र तर्कसंगत हुन सक्दैन।
३) प्यानल बनेपछि संगठित शक्तिको आडमा एकले अर्कोलाई कमजोर देखाउन, साखसहित हराउन न्वारनदेखिको बल लगाउनुभएको छ। संस्थागत उपस्थितिको दुरुपयोग गर्नुभएको छ। परस्पर प्रतिस्पर्धा स्वाभाविक थियो तर प्रतिस्पर्धालाई अस्वाभाविक बनाउनुभएको छ। नुनचुक लगाउँदै सत्तोसराप गर्नुभएको छ, मृततुल्य अभिव्यक्तिका साथ तेजोबध गर्नुभएको छ।
वर्षौंदेखि सँगसँगै सहकार्यमा उभिएको भए पनि यसपटक प्रतिस्पर्धी आफ्नै त्यो व्यक्ति र संगठित शक्तिलाई आफूविरोधी, पार्टीविरोधी, नेता–नेतृत्वविरोधी, क्रान्तिविरोधी, अराष्ट्रवादी, विदेशी र तिनका मतियार आदि भनेर डिम्कन दिनुभएको छैन।
अब अनिर्वाचित त्यो व्यक्ति र शक्ति फेरि कसरी सल्लाहाकार बन्न योग्य रहन्छ? जहाँ हारेको हो, त्यहीँ कसरी सल्लाहकार बनाउनुहुन्छ? त्यही कार्यकालका लागि हार्ने व्यक्ति कसरी जित्नेको सल्लाहकार हुन सक्छ? यसकारण हारेको पंक्ति जहाँ हारेको हो, त्यस ठाउँका लागि सल्लाहकार हुन सक्दैन।
४) एघारौँ महाधिवेशनमा आइपुग्दा दशौँ राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यनीतिक, कार्यक्रमिक र रणनीतिक महत्त्वका विषयवस्तुको सिंहालोकन गरेनौँ। मार्क्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादको भरसक शब्दोच्चारण गर्न चाहेनौँ। हाम्रा उपलब्धि चिनाउन, बुझाउन र मित्रवत् शक्तिसँग सहकार्यको हात अघि बढाउन विदेशी शक्तिलाई डाकेनौँ। मञ्च सजावटदेखि यत्रतत्र पुष्पलाल, मदनकुमार भण्डारी, मनमोहन अधिकारीको चित्रपट राखेनौँ। फरकमतलाई स्पेस दिएनौँ। यी केही व्यावहारिक असजिला देखिए, भेटिए।
नेकपा (एमाले)को राजनीतिक, वैचारिक कोर्स निर्देशित जीवन व्यवस्थापनको सन्दर्भमा देखिएका व्यावहारिक पक्षमाथि बहस–विमर्श गर्न चाहने व्यक्तिहरू महाधिवेशनमा हार्नुभएको छ।
निर्णीत विषयवस्तुप्रतिको अपनत्वबोध, विधान महाधिवेशनद्वारा निर्मित विधिको सर्वोच्चता, निर्मित विधिको निशर्त कार्यान्वयन, कमिटी प्रणालीअन्तर्गत अनुभूतिअभाव महसुस भएको अन्तरपार्टी लोकतन्त्र र सामूहिकतामाथि पुनर्जीवन खोज्न चाहने पंक्तिले हारेको छ।
अपवादबाहेक पार्टी नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरण र पुनर्गठन भन्ने पंक्ति चुनावमा हारेको छ। अमुक अमुक व्यक्तिले चुनावमा हार्नुको अर्थ महाधिवेशनले त्यो मतबाहकलाई स्पेस दिएन, त्यो म्यान्डेट पास गरिदिएन। म्यान्डेट नपाएको विषयको नेतृत्व गर्ने पंक्ति वा व्यक्ति यो कार्यकालका लागि कसरी सल्लाहकार हुन सक्छ? यो वैचारिक हुँदैन, व्यवहारसम्मत पनि हुँदैन।
५) जहाँ परिचयपत्र स्क्यान नगरी कोही आउन सक्दैन, गायिका ज्योति मगर महाधिवेशन कक्षमा आउनुभयो। उहाँको यो आकर्षित उपस्थितिदेखि लिएर कम्युनिस्ट आन्दोलनको बुर्जुवाकरणका रूपमा चिन्ह सकिने तहमा महाधिवेशन सभाहलबाहिर सुधार्नपर्ने दृश्य देखिए। यसकारण पनि चुनावी माहौल प्रभावित भयो होला!
तथापि, अरूसँग एमालेले हारेको होइन वा एमालेसँग अरूले हारेको होइन। यो त जिम्मेवारी व्यवस्थापन र बहनका लागि कार्यकर्ताको अनुमोदन हो, स्वाभाविक स्वीकारोक्ति हो।
हार–जितलाई कुण्ठा र दम्भका रूपमा होइन, पारस्पारिक सहअस्तित्वको सम्मानसहित सहकार्यका रूपमा लिनुपर्छ र अघि बढाउनुपर्छ। हारेको मजस्तो पंक्तिलाई नेतृत्व विकासको चरणमा तयार गर्नु पर्छ। हारेको पंक्तिले पनि खिन्नभावका साथ कसैको निगाह र मायादया खोज्ने होइन, तलको जिम्मेवारी पूरा गरेर पार्टी सदस्यको अभिमत लिएर आउनुपर्छ भन्ने अर्थमा आफूलाई लिनु पर्छ।
यसकारणले जहाँ हारियो, नेतृत्वले त्यहीँको जिम्मेवारी दिने होइन, मातहतको जिम्मेवारीमा बिनाकुनै आग्रह/पूर्वाग्रह र दूराग्रहका साथ परिचालन गर्नु पर्छ। जित्नेले हार्नेसँग कुनै खालको राग, द्वेष, कटुता, तिक्तता, वैरभाव आदि राखेर होइन, बरु अझ फराकिलो बन्नु पर्छ।
जित्ने बढी जिम्मेवार हुने हो। यसकारण पनि जित्नेले पवित्र मन र कमरेड्ली व्यवहार प्रदान गर्दै आफ्नो रणकौशल योग्यताका साथ पार्टी र कमिटीको नेतृत्व गर्नु पर्छ। हार्नेले सर्वस्व गुमेको भन्ठान्नु हुन्न। बरु, आफ्नो हारको कारण खोज्दै र सिक्दै जित्नेको नेतृत्वलाई सगर्व सघाउनुपर्छ। यसैमा हामी सबैको भलाइ छ।
(युवराज बास्कोटा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिए)
प्रतिक्रिया