• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • रवि-बालेनतिर संकेत गर्दै ओलीले भने- ‘वैदेशिक शक्तिको दलालीमा संलग्न’

    रवि-बालेनतिर संकेत गर्दै ओलीले भने- ‘वैदेशिक शक्तिको दलालीमा संलग्न’

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने र बालेन्द्र साह (बालेन)तिर संकेत गर्दै ‘वैदेशिक शक्तिको दलालीमा संलग्न’ रहेको आरोप लगाएका छन्।

    मंगलबार एमाले सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले कतिपय नियतवश र कतिय स्वार्थ बोकेर विदेशी शक्तिको दलालीमा लागेको टिप्पणी गरेका हुन्। बैठकमा अध्यक्ष ओलीले भनेका छन्, ‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्।’

    विकासको नाममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एजेन्डा बोकेर हिडिरहेको बताएका छन्। बैठकमा अध्यक्ष ओलीले भनेका छन्, ‘विकासको नाममा एनजी आईएनजीओको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रुपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ।’

    गत भदौमा भएको जेनजी आन्दोलनलाई लिएर पनि ओलीले रवि र बालेनलाई दोषारोपण गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार, ओलीले भनेका छन्, ‘नेपाली जनताको देशभक्ति र राष्ट्रियताको भावना अत्यन्त सशक्त भएकै कारण भदौ २३ र २४ गते भएका घटनालाई महान उपलब्धि भनेर दाबी गर्ने साहस उनीहरूले गर्न सकेनन्।’

    जेनजी आन्दोलनमा भएको क्षतिको जिम्मेवारी उनीहरूले लिनुपर्ने ओलीको भनाइ थियो। ‘न उक्त आन्दोलनको जस लिन सके न त देशलाई क्षति पुर्‍याउने भारीबाट पन्छिन सके। अन्ततः देश ध्वस्त बनाउने कामको जिम्मेवारी उनीहरूले नै लिनुपर्ने अवस्था आएको छ,’ ओलीले भनेका छन्।

    एमाले सचिवालय बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्थासँगै आउँदो राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल भइरहेको छ।



    radiomirmire radiomirmire    
  • २०८२ पुष २२, मंगलवार ०७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP