दुई समूहमा विभाजित गैरआवासीय नेपाली संघ (एनआरएनए) गत मंसिर १४ गते एक भए पनि यसका सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसी) ‘मर्ज’ नहुँदा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गर्न लागेको अमेरिका भ्रमणका विषयमा दुईथरी विज्ञप्ति जारी गरिएका छन्।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाकै नाममा एउटा पक्षले मन्त्री गुप्तालाई एक कार्यक्रमका लागि अमेरिका निमन्त्रणा गर्दा अर्काे समूहले उनलाई नबोलाइएको भनी वक्तव्य जारी गरेको हो।
विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए-अमेरिकाले मन्त्री गुप्तालाई टेक्ससको डालसमा आयोजना गरिने ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन’ कार्यक्रममा विचार राख्न बोलाउँदा सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनए-अमेरिकाले भने कुनै कार्यक्रम नरहेको र मन्त्री गुप्तालाई अमेरिका नबोलाइएको जानकारी गराएको हो।
तर अघिल्लो एनआरएनए-अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता माघ ३ गते अमेरिका जाने तयारीमा छन्।
सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनए-अमेरिकामा मन्त्री सन्देश उप्रेती प्रवक्ता छन्।
उनले जारी गरेको विज्ञप्ति यस्तो छ :
गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए एनसीसी यूएसए) को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। यस्ता गतिविधिहरू एनआरएनए एनसीसी यूएसएको जानकारी, स्वीकृति तथा आधिकारिक निर्णयबिना केही व्यक्ति वा समूहहरूले संस्थाको नाम, ईआईएन नम्बर तथा वेबसाइटको दुरुपयोग गरी सञ्चालन गरिरहेका छन्।
एनआरएनए एनसीसी यूएसए संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था हो। संस्थाको नाम, ईआईएन तथा डिजिटल पहिचानको दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने भएकाले यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको छ। संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए एनसीसी यूएसएसँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले हामी यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएका छौँ।
यस सन्दर्भमा एनआरएनए एनसीसी यूएसएले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौँ। साथै एनआरएनए एनसीसी यूएसएको तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन।
यसै सन्दर्भमा एनआरएनए एनसीसी यूएसएको आधिकारिक र स्पष्ट धारणा निम्नानुसार सार्वजनिक गरिन्छ :
• एनआरएनए एनसीसी यूएसएको कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा कार्यक्रमसँग संस्थाको कुनै प्रकारको संलग्नता, स्वीकृति वा सम्बन्ध छैन।
• एनआरएनए एनसीसी यूएसएको आधिकारिक स्वीकृतिबिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण, संकलन (फनड्राइजिङ) वा गतिविधिहरू पूर्ण रूपमा अवैध र अमान्य ठहरिनेछन्।
• संस्थाको नाम, ईआईएन नम्बर, वेबसाइट वा एनआरएनए एनसीसी यूएसए को साख प्रयोग गरी गरिएका कुनै पनि गतिविधिहरूका लागि सम्बन्धित व्यक्ति वा समूह स्वयं पूर्ण रूपमा जिम्मेवार हुनेछन्।
• एनआरएनए एनसीसी यूएसएको नाम र पहिचानको दुरुपयोग गर्ने कुनै पनि व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
• एनआरएनए एनसीसी यूएसएले कुनै पनि अनधिकृत कार्यक्रममा सहभागी हुने व्यक्तिहरूका यात्रा, आवास वा अन्य खर्चहरूको जिम्मेवारी लिँदैन।
• यस विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिहरूसम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइनेछ।
• एनआरएनए एनसीसी यूएसए सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम, तथा समुदायका सदस्यहरूलाई यस्ता अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि मात्र संस्थाका मान्य माध्यमहरूमा भर पर्न अनुरोध गर्दछ।
सन्देश उप्रेती, प्रवक्ता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका
अनि विकास उप्रेती अध्यक्ष रहेको एनआरएनए-अमेरिकामा प्रवक्ता द्रोण गौतम छन्।
उनले जारी गरेको विज्ञप्ति यस्तो छ :
मिति: जनवरी ८, २०२६
ध्यानाकर्षण।
युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्ताज्यूको अमेरिका भ्रमणलाई लिएर सार्वजनिक रूपमा उठेका विभिन्न टिकाटिप्पणीहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
माननीय युवा तथा खेलकुदमन्त्री केवल नेपाल सरकारका एक सदस्य मात्र नभई विदेशमा बसोबास गर्ने नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री हुनुहुन्छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएको नाताले नेपालको बदलिँदो राजनीतिक-सामाजिक परिस्थिति तथा पछिल्लो जेनजी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाहरूको सन्दर्भमा नेपाल सरकारमा जेनजीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माननीय बब्लु गुप्ताज्यूलाई “रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन” शीर्षकमा आफ्नो धारणा व्यक्त गर्न तथा नेपाली समुदायसँग अन्तरक्रिया गर्न औपचारिक रूपमा आमन्त्रण गरिएको हो।
उक्त कार्यक्रममा सहभागी हुनका लागि लाग्ने सम्पूर्ण खर्च आयोजक संस्थाले नै बेहोर्ने निर्णय गरिएको छ, जसबाट नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने स्पष्ट पार्न चाहन्छौँ। माननीय मन्त्रीज्यूको कार्यतालिका (सेडुल) अनुसार टेक्सासको डालसमा आयोजना गरिने भनिएको उक्त कार्यक्रमको विस्तृत विवरण, सेडुल अन्तिम भएपछि सार्वजनिक गरिनेछ।
यस कार्यक्रम तथा माननीय मन्त्रीज्यूको अमेरिका भ्रमणलाई लिएर उठेका टिकाटिप्पणीहरूबारे हामी पूर्ण रूपमा सचेत छौँ। यो भ्रमण र कार्यक्रममा मन्त्रीज्यूको सहभागिता विदेशमा रहेका नेपाली युवालाई नेपालको विकास प्रक्रियासँग जोड्ने बौद्धिक विमर्श र सकारात्मक संवादको पहल हो भन्ने हाम्रो स्पष्ट धारणा छ।
अतः भ्रामक, अप्रमाणित तथा अनर्गल टिकाटिप्पणीहरूको पछि नलागी तथ्यमा आधारित सकारात्मक सोचका साथ अघि बढ्न सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौँ।
द्रोण गौतम, प्रवक्ता
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका
विभाजन भएको चार वर्षपछि गत मंसिर १४ गते प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एनआरएनएका दुई समूहका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
१०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले विभाजित एनआरएनए एक भए पनि यसअन्तर्गत सबै देशका कार्यसमिति मर्ज भइसकेका छैनन्। जसले गर्दा उक्त समस्या आएको हो।
प्रतिक्रिया