प्रतिनिधि सभा सदस्यका लागि आउँदो फागुन २१ म हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गर्न प्रमुख तीन दलले नयाँ अनुहारलाई अघि सारेका छन्। यसअघि प्रतिस्पर्धामा उत्रिए आएका ‘भेट्रान’ नेताले भने रुची देखाएनन्।
लामिछाने उम्मेदवार रहेको चितवन-२ मा २३ जना उम्मेदवार चुनावी मैदानमा छन्। यो क्षेत्रमा रास्वपाका लामिछाने, नेकपा (एमाले)का अस्मिन घिमिरे, नेपाली कांग्रेसका मीनाकुमारी खरेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रताप गुरुङ उम्मेदवार छन्।
यो क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ उम्मेदवार भए पनि रास्वपाका लामिछाने, एमालेका घिमिरे, नेकपाका गुरुङ र कांग्रेसकी खरेललाई नै मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको छ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए। त्यसपछि २०८० मा भएको उपनिर्वाचनमा पनि निर्वाचित भएका लामिछाने तेस्रो पटक पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन्। उनी उम्मेदवार बनेपछि अन्य दलका ‘हेभिवेट’ नेता अघि सरेनन्।
२०८० वैशाखमा भएका उपनिर्वाचनमा लामिछानेले २०७९ सालको भन्दा ५ हजार बढी मत पाएका थिए। उनले ५४ हजार १७५ मत पाएका थिए भने त्यसअघि २०७९ सालको निर्वाचनमा ४९ हजार २६१ मत प्राप्त गरेका थिए।
दुई पटक चितवन-२ का मतदाताले अत्यधिक मत दिएर जिताएका लामिछाने पुनः चुनावी मैदानमा उत्रिएका हुन्। उनीसँगको चुनावी प्रतिस्पर्धामा एमालेले युवा उम्मेदवारलाई अघि सारेको छ।
यस क्षेत्रमा उम्मेदवार बन्न इच्छुक १५ जनाको नाम सिफारिस भएको थियो। एमाले नेता तथा राष्ट्रिय भूमि आयोगका पूर्व अध्यक्ष देवि ज्ञवाली, संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, बागमती प्रदेशका पूर्व विजय सुवेदी, प्रदेश सांसद कृष्ण सिलवाल, शिक्षाविद् रमाकान्त सापकोटा, चितवन बारका पूर्व अध्यक्ष राजकुमार श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराई, अधिवक्ता सुनिता अधिकारी, एमाले बागमती प्रदेश कमिटी सदस्य अस्मिन घिमिरेलगायत सिफारिस भएका थिए। त्यसमा एमाले केन्द्रले युवा नेता घिमिरेलाई उम्मेदवार बनाएको हो।
यसअघि लामिछानेसँगै चुनावी प्रतिस्पर्धा गरेका कृष्णभक्त पोखरेल र रामप्रसाद न्यौपाने उम्मेदवार बन्न नमानेपछि घिमिरेलाई अघि बढाइएको एमाले चितवनका नेताहरू बताउँछन्। २०७९ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए भने २०८० वैशाखको उपनिर्वाचनमा एमालेबाटै उम्मेदवार बनेका न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरेका थिए।
कांग्रेसबाट उम्मेदवार बनेकी खरेल लामो समयदेखि महिला तथा बालबालिका अधिकार क्षेत्रमा क्रियाशील थिइन्। कांग्रेसभित्र मिलनसार व्यक्तिका रुपमा परिचित खरेललाई यो पटक कांग्रेसले उम्मेदवार बनाएको हो।
कांग्रेसबाट पनि यसअघि उम्मेदवार बनेका नेताहरू उम्मेदवार बन्न नमानेपछि नयाँ अनुहार अघि सारिएको स्थानीय नेताहरू बताउँछन्। २०७९ सालको निर्वाचनमा कांग्रेस नेता उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए भने २०८० सालको उपनिर्वाचनमा श्रेष्ठ ‘ब्याक’ हुँदा जीतनारायण श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका थिए।
कांग्रेस विशेष महाधिवेशनमा गगन थापालाई सघाएका श्रेष्ठ यो पटक पनि चितवन-२ बाटै उठ्ने बताउँदै आएका थिए। तर, अन्तिममा उनले उम्मेदवारी दर्ता गर्न इच्छा नदेखाएको कांग्रेस नेताहरू बताउँछन्। जिल्लामा कांग्रेसभित्र राम्रो सम्बन्ध रहेको र अन्य दलहरूको समेत मत तान्न सक्ने क्षमता भएकी खरेललाई जित्ने सम्भावनाका कारण अघि बढाइएको कांग्रेस नेताहरूको भनाइ छ।
नेकपाबाट उम्मेदवार बनेका गुरुङ पनि पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धी बनेका छन्। नेकपा चितवन जिल्ला कमिटीको तर्फबाट इच्छाकामना गाउँपालिकाका इन्चार्जसमेत रहेका गुरुङ पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्दै छन्।
चितवन-२ मा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा रहेका छन्।
प्रतिक्रिया