काभ्रे भुम्लु गाउँपालिका– ३ का २३ वर्षीय विनय तामाङ डाँका चोरी कसुरमा महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा थिए । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा हिरासतबाट भागेका उनी समूह नै बनाएर लुटपाटमा सक्रिय भए । मर्निङवाकमा निस्किने सर्वसाधारणको कानै लुछेर गहना लुटपाटमा सक्रिय विनयको समूहले २४ भदौयता मात्रै २७ व्यक्तिलाई लुटेको खुलेको छ ।
बिहीबार पनि लुटपाटका लागि गोठाटारतर्फ जाँदै गरेको समूहका १० जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले मुलपानीमा गोली प्रहार गरेर पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विनयसहित सिन्धुलीको मरिन गाउँपालिका– ५ का २४ वर्षीय आयन माझी, सोही पालिका वडा नम्बर ७ का ३२ वर्षीय सविन माझी, मोरङको पथरी शनिश्चरे नगरपालिका– ३ का २३ वर्षीय मनीष रसाइली, काभ्रेकोे चौँरी देउराली गाउँपालिका– १ का २९ वर्षीय पेमा तामाङ र २० वर्षीय सलोन तामाङ छन् । त्यस्तै, काभ्रेको भुम्लु गाउँपालिका– ३ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्बा गाउँपालिका– ८ का २२ वर्षीय विशाल तामाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ३ का २८ वर्षीय विदुर विश्वकार्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ३ का २९ वर्षीय फुर्वा तामाङ पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूले उपत्यकाभित्र २७ ठाउँमा लुटपाट गरेको खुलेको छ । भक्तपुरको ठिमीमा १३, स्वयम्भू क्षेत्रमा सात, गौशाला क्षेत्रमा तीन, बौद्ध क्षेत्रमा तीन र चाबहिल क्षेत्रमा एक गरी २७ जनालाई लुटेका थिए । घटनाका सबै पीडित सम्पर्कमा आएको र चारवटा जाहेरी पनि दर्ता भइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले बताए ।
‘काठमाडौं उपत्यकाभित्र लुटेर आतंक मच्चाउने गिरोहका १० जनालाई पक्राउ गरिएको छ । यिनीहरूले भदौै २४ यता मात्रै २७ जनालाई लुटेको देखिन्छ । सबै पीडित प्रहरीको सम्पर्कमा आएका छन् । जसमध्ये चारजनाको जाहेरी नै दर्ता भइसकेको छ,’ उनले भने ।
प्रहरीले गोली चलाउँदा गिरोहका मुख्य नाइके विनय घाइते भएका छन् । पक्राउ गर्न खोज्दा उल्टै आक्रमणमा उत्रिएपछि गोली चलाएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेका विनयको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विनय नेतृत्वको टोली बिहीबार बिहानै लुटपाट गर्न गोठाटार क्षेत्रतर्फ जाँदै थियो ।
‘पक्राउ परेकामध्ये विनय घटनाका मुख्य योजनाकार हुन् । उनी २४ भदौमा जेन–जी आन्दोलनका क्रममा हिरातबाट भागेका थिए । लुटपाटको योजना बनाउनेदेखि समूहमा व्यक्तिलाई परिचालन गर्नेसम्म सबै काम उनैले गरेको देखिन्छ,’ एसएसपी थापाले भने ।
प्रहरीका अनुसार समूहका १० जना प्रत्येक दिन बेलुका नौ बजे भेला हुन्थे । लुटपाट गर्ने क्षेत्रको ब्रिफिङ विनयले गर्थे । दिउँसो निजी कारमा चढेर लुटपाट गर्ने क्षेत्रको रेकी गर्थे । प्रहरी चौकी, सर्वसाधारणको चहलपहल, भाग्ने ठाउँलगायत निश्चित गर्थे । ठाउँ तय गरेपछि बिहानै दुई मोटरसाइकलमा तीन–तीनजना चढेर पुग्थे र सर्वसाधारणलाई लुट्थे । बिहान लुटपाट गरेर फरार हुने उनीहरूले दिउँसो ट्याक्सी चलाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
विनयलगायत विगतदेखि नै आपराधिक गतिविधिमा लागेको देखिन्छ । उनी ०७९ र ०८२ मा डाँका चोरी अभियोगमा पक्राउ परेका थिए । त्यस्तै, आयनविरुद्ध २६ पुस ०७९ मा भक्तपुर जिल्ला प्रहरी परिसरमा डाँका चोरी मुद्दा दर्ता भएको थियो । सविन यसअघि ०७९ र ०८० मा भएको डाँका चोरी घटनामा संलग्न थिए । पेमा ०७८ र ०७९ मा चोरी घटनामा संलग्न भएको खुलेको छ । त्यस्तै, राजीव ०८२ मा मोटरसाइकल चोरी र डाँका मुद्दामा संलग्न थिए ।
प्रतिक्रिया