• २०८३ श्रावण २७ | Wed, 12 Aug 2026

  • कप्तानगन्ज घटनालाई लिएर सरकारप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रामक, सदनमा जवाफ माग

    कप्तानगन्ज घटनालाई लिएर सरकारप्रति प्रमुख प्रतिपक्ष कांग्रेस आक्रामक, सदनमा जवाफ माग

    काठमाडौँ। नेपाली का‌ंग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगन्जमा प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा आपत्ति जनाउनुभएको छ।

    प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र निष्पक्ष छानबिन हुनुपर्ने माग गर्नुभयो।

    नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र होइन, संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु पनि हो। सरकार आफ्नो प्राथमिक दायित्वबाट पन्छिन मिल्दैन।”

    प्रधानमन्त्री र गृहमन्त्रीको मौनतामाथि प्रश्न उठाउँदै थापाले भन्नुभयो, “हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ? के पद र शक्तिले पीडाको वर्गीकरण गर्छ? नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ।”

    साम्प्रदायिक विद्वेष फैलाउने कुनै पनि प्रयास नेपालको संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत हुने उल्लेख गर्दै उहाँले कसैको उक्साहटमा नपरी सामाजिक एकता र भाइचारा कायम राख्न नागरिक समाज र आम सर्वसाधारणमा अपिल गर्नुभयो।

    सम्बोधनका क्रममा प्रमुख सचेतक थापाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १४, बिहीबार ०७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP