विराटनगर — पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बेवास्ता गरेको र सत्ता गठबन्धनको सहमति कार्यान्वयनमा छलफल नगरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध नेकपा एमालेभित्रै मोर्चाबन्दी सुरु भएको छ।
एमालेका असन्तुष्ट पक्षका सांसदहरूले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई उक्त पदबाट हटाउने आन्तरिक तयारी थालेका छन्।
“नेतृत्वको निर्देशन नमान्ने र परामर्श पनि नगर्ने भएपछि हामीले कदम चाल्नैपर्ने अवस्था आयो,” असन्तुष्ट समूहका एक नेताले भने, “हस्ताक्षर अभियान नै त सुरु भइसकेको छैन, तर परिस्थिति त्यतातर्फ जान सक्छ।”
एमाले केन्द्रीय सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा शनिबार विराटनगर पुगेसँगै कार्कीविरोधी अभियान तीव्र बनेको छ। उनीहरूले सांसदहरूसँग व्यक्तिगत भेटघाट बढाएपछि मुख्यमन्त्री कार्की दबाबमा परेका छन्।
स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले मुख्यमन्त्रीबाट कार्कीलाई हटाएर ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चाहना राखेका छन्। यसै सिलसिलामा असन्तुष्ट सांसदहरू विराटनगरको होटल बिगमा भेला भई छलफल गरिरहेका छन्।
मुख्यमन्त्री कार्कीलाई दलको नेताबाट हटाउन भने विधानको व्यवस्था बाधक बन्न सक्ने देखिएको छ। एमाले सांसद रेवतीरमण भण्डारीका अनुसार संसदीय दलको विधान अनुसार नेता हटाउन दुई तिहाइ बहुमत आवश्यक पर्छ।
“विधान अनुसार दलको नेता हटाउन दुई तिहाइ चाहिन्छ,” भण्डारीले भने, “अहिले कार्की हटाउन लाग्नुभएका साथीहरूसँग बहुमत पुर्याउन पनि गाह्रो छ।”
एमाले संसदीय दलको विधानको दफा ७ (२) मा राजीनामा दिएमा, दुई तिहाइ बहुमतले अविश्वासको प्रस्ताव पारित गरेमा, प्रदेश सभा सदस्य नरहेमा वा मृत्यु भएमा मात्र दलको नेताको पद खाली हुने व्यवस्था छ।
कार्की निकट एक सांसदले भने पार्टी अध्यक्ष नै लागिपरेमा दलको नेता फेर्न सकिने तर त्यसले सिधै मुख्यमन्त्री परिवर्तन नहुने बताए। “दलको नेता हटे पनि मुख्यमन्त्रीले प्रदेश सभामै सामना गर्नुहुन्छ,” ती सांसदको भनाइ छ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच भएको तीन बुँदे सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने तय भएको छ। तर, एमालेभित्रै मुख्यमन्त्रीको उम्मेदवारबारे सहमति जुट्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया लम्बिएको छ।
यसैबिच, बागमती प्रदेशमा एमालेले संसदीय दलका नेता जगन्नाथ थपलियालाई मुख्यमन्त्री बनाउने निर्णय गरे पनि अध्यक्ष ओलीले भने किरण थापालाई अगाडि सार्न खोजेको स्रोतको दाबी छ।
प्रतिक्रिया