• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • रेडियो प्रस्तोता र विद्रोही नेतादेखि प्रदेशको कानून मन्त्रीसम्म: गोम्बु शेर्पाको यात्रा

    रेडियो प्रस्तोता र विद्रोही नेतादेखि प्रदेशको कानून मन्त्रीसम्म: गोम्बु शेर्पाको यात्रा

    कोशी प्रदेशसभाका ‘गीताङ्गे माननीय’ भनेर चिनिने सांसद गोम्बु शेर्पा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन्। मुख्यमन्त्री हिखमतकुमार कार्की नेतृत्वको पुनर्गठित सरकारमा नेकपाबाट मन्त्री नियुक्त भएसँगै उनको सोलुखुम्बुको विकट गाउँदेखि प्रदेशको राजकाजसम्मको राजनीतिक यात्राले नयाँ मोड लिएको छ।

    बाल्यकाल र राजनीतिक यात्राको सुरुआत २०३७ साल फागुन २८ गते सोलुखुम्बुको सोताङ गाउँपालिका–२ (साविक पावै गाविस), जुके गाउँमा बुबा लाक्पा शेर्पा र आमा पेम्बा रिन्जी शेर्पाको कोखबाट जन्मिएका गोम्बुको बाल्यकाल पहाडी सङ्घर्षमै बित्यो। कक्षा ५ मा अध्ययन गर्दा नै शिक्षक हिरामान राईको प्रभावका कारण उनी वामपन्थी विचारधारातर्फ आकर्षित भएका थिए।

    • २०५३ साल: सगरमाथा मावि बुङको अनेरास्ववियु इकाइ सदस्य बनेर विद्यार्थी राजनीतिमा प्रवेश।

    • २०५४ साल: इकाइ उपाध्यक्ष हुँदै इलाका सदस्यको जिम्मेवारी।

    • २०५८ साल: भक्तपुरको सानोठिमी क्याम्पसमा पढ्दा अखिल (क्रान्तिकारी) को सचिव। सोही वर्ष संकटकालका क्रममा होस्टेलबाट गिरफ्तार भई चार दिन हिरासत।

    • २०५९–२०६०: पुनः गिरफ्तार भई १० महिना केन्द्रीय कारागार काठमाडौंमा राजनीतिक बन्दीका रूपमा जेल जीवन।

    सशस्त्र विद्रोह, सञ्चार र प्रशासनिक अनुभव २०६० वैशाखमा जेलमुक्त भएपछि उनी नेकपा (माओवादी) को संगठित सदस्य बने। सशस्त्र विद्रोहका क्रममा विचारको मोर्चा सम्हाल्दै उनले २०६० देखि २०६२ सम्म ‘रेडियो जनगणतन्त्र पूर्वी प्रसारण सेवा’मा समाचार लेखक, वाचक र प्रस्तोताका रूपमा काम गरे।

    • पार्टी जिम्मेवारी: २०६२ मा सोलुखुम्बु जिल्ला सेक्रेटरी, २०६४ मा सह–इन्चार्ज र २०६८ मा इन्चार्ज।

    • प्रशासनिक अनुभव: २०६५ मा तत्कालीन मन्त्री गोपाल किरातीको स्वकीय सचिव र पर्वतीय प्रशिक्षण विकास समितिको अध्यक्ष।

    संसदीय यात्रा र ‘गीताङ्गे माननीय’को उपनाम २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए पनि उनले पार्टी संगठन निर्माणलाई निरन्तरता दिए। माओवादी केन्द्रको जिल्ला अध्यक्ष र संयोजक हुँदै उनी २०७९ मा केन्द्रीय सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित भए।

    प्रदेशसभाका १३३ मध्ये १२६ बैठकमा सहभागी भई सक्रिय भूमिका खेलेका शेर्पाले भ्रष्टाचार, विकृति र जनसरोकारका मुद्दा उठाउन संसदको रोष्ट्रममा गीत गाउने र व्यंग्य गर्ने मौलिक शैली अपनाए। यही शैलीका कारण उनले ‘गीताङ्गे माननीय’को उपनाम पाएका थिए।

    नयाँ जिम्मेवारी र चुनौती श्रीमती तारा राई र छोरा ङिमादेण्डी शेर्पाको पारिवारिक साथ पाएका गोम्बु शेर्पाका अगाडि अब संसदमा गीतका माध्यमबाट उठाएका जनचाहना र चुनावी प्रतिबद्धताहरूलाई कानून तथा नीतिमा ढाल्नुपर्ने मुख्य चुनौती छ। जुके गाउँको विद्रोही यात्राबाट सुरु भएको उनको राजनीतिक जीवन अहिले प्रदेशको शान्ति सुरक्षा र कानून निर्माणको कमाण्ड सम्हाल्ने ठाउँमा पुगेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १, सोमबार १३:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP