• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • दक्षिण कोरियाले नेपाल पठाउँदै ४४ सदस्यीय विपद् उद्धार टोली, त्रिशूली–१ मा बेपत्ता ९ कोरियालीको खोजीलाई प्राथमिकता

    दक्षिण कोरियाले नेपाल पठाउँदै ४४ सदस्यीय विपद् उद्धार टोली, त्रिशूली–१ मा बेपत्ता ९ कोरियालीको खोजीलाई प्राथमिकता

    नेपालमा हालै आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि दक्षिण कोरिया सरकारले ४४ सदस्यीय विपद् उद्धार टोली (केडीआरटी) पठाउने भएको छ। नेपाल सरकारको औपचारिक आग्रहपछि कोरियाको सार्वजनिक-निजी ओभरसिज इमर्जेन्सी रिलिफ काउन्सिलले उक्त निर्णय गरेको हो।

    दक्षिण कोरियाली वायुसेनाको विशेष विमानमार्फत मंगलबार काठमाडौँ आउन लागेको टोलीमा विदेश मन्त्रालय, कोइका र राष्ट्रिय अग्नि नियन्त्रक निकायका सदस्यसहित ५ वटा तालिमप्राप्त खोजी कुकुरहरू समावेश छन्। कोरियाली विदेश मन्त्रालयका महानिर्देशक ली क्यु-होको नेतृत्वमा आउने यो टोलीले करिब १० दिन नेपालमा रहेर रसुवा क्षेत्रमा खोज तथा उद्धार सञ्चालन गर्नेछ।

    विशेष गरी रसुवास्थित कोरियाली लगानीको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत बेपत्ता ९ जना कोरियाली नागरिक (६ जना दुसान एनर्बिलिटी र ३ जना कोरिया साउथ-इस्ट पावरका कर्मचारी) को खोजीलाई टोलीले प्राथमिकता दिनेछ।

    यसैबीच कोरियाली राष्ट्रपति ली जे म्युङले उद्धार टोलीको सुरक्षालाई ध्यान दिँदै हेलिकप्टर, ड्रोन तथा थप जनशक्ति प्रयोग गरेर खोजी चुस्त बनाउन निर्देशन दिएका छन्। नेपाली सेना र चिनियाँ उद्धार टोलीसँगको सहकार्यमा सुरुङ तथा सम्भावित क्षेत्रमा खोजी तीव्र पारिएको छ। आयोजनाको सुरुङभित्र ३०० मिटर गहिराइमा एक शव भेटिएकाले त्यसको पहिचान गर्ने काम भइरहेको दूतावासले जनाएको छ। कोरियाले नेपालका लागि १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायताको घोषणा समेत गरिसकेको छ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार जलविद्युत् आयोजनाहरूबाट अझै ५७३ जना सम्पर्कविहीन छन् भने हालसम्म ८७३ जनाको जीवितै उद्धार गरिएको छ। माथिल्लो त्रिशूली-१ को सुरुङभित्र मात्रै करिब ३०० जना कामदार फसेको हुनसक्ने आशङ्का गरिएको छ।

    धुञ्चे (रसुवा), १६ भदौः
    खोज तथा उद्वारका लागि दक्षिण कोरियाबाट धुञ्चे आएका उद्वार टोली
    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्वारका लागि दक्षिण कोरियाबाट रसुवाको धुञ्चे आईपुगेका उद्वार टोली । टोलीले आजदेखि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्वारको काम सुरु गर्ने भएका छन्। तस्बिरः घनश्याम श्रेष्ठ/रासस



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १६, मंगलवार ०७:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP