विनाशकारी भोटेकोसी बाढीका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धार कार्य तीव्र पारिएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, कोरियाली उद्धार टोली, शेर्पा, नेपाल ड्रोन एसोसिएसनका प्रतिनिधि र तालिमप्राप्त कुकुरहरूसहितको संयुक्त टोली परिचालन गरिएको छ। हाल २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा भोटेकोसी, २० मेगावाटको लाङटाङ खोला, ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ र ३७ मेगावाटको त्रिशूली थ्री ‘बी’ लगायतका आयोजनाहरूमा उद्धार जारी छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार क्षतिग्रस्त ११ वटा जलविद्युत् आयोजनाबाट ९१९ जना सम्पर्कविहीन छन्। रसुवाका आयोजनाहरूबाट ६९६ जना र नुवाकोटका आयोजनाहरूबाट २२३ जना हराइरहेका हुन्। सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ बाट ५४८ जना सम्पर्कविहीन छन्, जसमा ९ जना कोरियाली, ३४ चिनियाँ र ५० भारतीय नागरिक रहेका छन्। यद्यपि नेपाली सेनाका अनुसार भने नदी क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र १२१ जना मात्र फसेको आकलन छ।
बाढीले क्षति पुर्याएका आयोजना स्थलहरूमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। माथिल्लो त्रिशूली–१ मा आइआर ड्रोन र तालिमप्राप्त कुकुर प्रयोग गरी डिसेन्डर बेसिन तथा सुरुङहरूमा खोजतलास भइरहेको छ। नेपाली सेनाको हेलिकप्टरबाट मिनी एक्स्काभेटर ल्यान्ड गराउने प्रयास गरिए पनि जटिल भौगोलिक अवस्थाका कारण अवतरण हुन सकेको छैन। सेनाको टोली मुख्य प्रवेश टनेलको ४०० मिटरसम्म पुगेर खोजी गर्दा पनि केही फेला पर्न सकेको छैन। यसअघि भदौ २० गते बाढीको ११ औँ दिनमा सोही आयोजनाको अडिट ४ सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो।
यसैगरी, माथिल्लो त्रिशूली थ्री ‘बी’ र थ्री ‘ए’ मा ठूला एक्स्काभेटर, जेसीबी र बबक्याट प्रयोग गरी बाढीले पुरेको कार्यालय तथा आवास क्षेत्र सोहोर्ने काम भइरहेको छ। सेना र आयोजनाको संयुक्त टोलीले १० फिट गहिराइसम्म खन्दा पनि कुनै भौतिक संरचना फेला नपरेकाले मंगलबारसम्ममा वास्तविक अवस्था थाहा हुने बताइएको छ। लाङटाङ खोला आयोजनाको सुरुङबाट २ वटा शव निकालिए पनि ३९ जना अझै अज्ञात छन्।
त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रको पहुँच सडक भत्किएकाले उद्धार सुस्त भएकोमा सोमबारदेखि स्याफ्रुबेंसीबाट डोरी र ठूला पाइपहरुको सहायताले म्यानुअलरूपमा पैदल बाटो तयार गरी प्रवेशद्वारसम्म पुग्न सम्भव भएको छ। चिलिमेमा पहुँच सडकका लागि भीरमा ब्लास्टिङ गर्ने तयारी भइरहेको छ। रसुवागढी आयोजनामा पावरहाउस र कन्ट्रोल पोइन्टसम्म खोजी जारी राखिए पनि टनेल र घट्टे खोलादेखि टिमुरेसम्मको क्षेत्रमा केही फेला नपरेपछि खोजीमा खटिएका ८ जना शेर्पाहरूको टोली काठमाडौँ फर्किएको छ। प्राविधिक तथा भौगोलिक जटिलता, लेदो र ठूला ढुङ्गाका बाबजुद उद्धार टोलीहरू खोजी कार्यमा निरन्तर खटिएका छन्।
प्रतिक्रिया