सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटमा एक महिलाले शिशुलाई जन्म दिएको गम्भीर घटनाप्रति अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण गराउँदै छानबिन प्रक्रिया अघि बढाएका छन्। अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ र दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। हाल आमा बबिताकुमारी पासवान र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूलाई अस्पतालको बेड नं. २२ मा राखेर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराउनुका साथै सम्पूर्ण औषधि, उपचार र सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको छ।
घटना विवरण अनुसार बुधबार राति करिब २ बजे ३० वर्षीया बबिता व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। प्रारम्भिक परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नं. २४ मा भर्ना गरी अत्यावश्यक जाँच गर्न सुझाव दिइएको थियो। तर त्यसपछि उनी र उनका कुरुवा शय्यामा नरहेको र बिहान ४:४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी आएको विज्ञप्तिमा उल्लेख छ। प्रसूतिपछि वार्डमा ल्याएर ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटी उपचार प्रक्रिया अघि बढाएका थिए।
यस संवेदनशील घटनाको सत्यतथ्य पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ, एथिकल कमिटीका डा. अजय शाह र मन्त्रालयको उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझीसहितको पाँच सदस्यीय छानबिन टोली राजविराज प्रस्थान गरेको छ। स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण सोध्दै कुनै पनि सेवाग्राहीलाई उपचारबाट वञ्चित गर्न नहुने स्पष्ट पारेको छ। स्थलगत छानबिनका क्रममा दोषी देखिएका व्यक्तिमाथि कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया