रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भई होल्डिङ सेन्टरमा राखिएकामध्ये २५ जनामा झाडापखालाको समस्या देखिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले सो जानकारी दिएका हुन्। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा झाडापखालाबाहेक अन्य जटिल स्वास्थ्य समस्या वा रोगको संक्रमण भने हालसम्म देखा परेको छैन।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा गरी करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। बागमती प्रदेश सरकार र मन्त्रालयका संयन्त्रहरूमार्फत तथ्यांक संकलन गरिएकाले प्रभावितको संख्यामा केही फेरबदल हुन सक्ने सचिव देवकोटाले बताए।
बैठकमा बोल्दै सचिव देवकोटाले पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले ठूलो पाठ सिकेको उल्लेख गर्दै आगामी दिनमा निर्माण गरिने संरचनाहरूलाई जलवायु अनुकूल (क्लाइमेट रेजिलेन्स) बनाउनुपर्नेमा जोड दिए। भौगोलिक अवस्था, स्थानीय तापक्रम र नजिकका स्वास्थ्य संस्थाको सहज पहुँचलाई आधार बनाएर पुनर्स्थापना तथा पुनर्निर्माणको मास्टरप्लान तयार पारिइरहेको र छिट्टै समितिमा पेस गरिने उनले जानकारी दिए।
प्रतिक्रिया