नेकपा (एमाले) को सोमबार बसेको सचिवालय बैठक कुनै ठोस निर्णय नगरी टुंगिएको छ। चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकमा लैजान अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन बनेको हो। यसले गर्दा केन्द्रीय कमिटी बैठकका लागि तय गरिनुपर्ने एजेन्डासमेत बन्न सकेन।
यसअघि आइतबार बसेको कार्यदलको बैठकले उपमहासचिव प्रदीप ज्ञवालीले तयार पारेको २९ पृष्ठको प्रतिवेदनलाई परिमार्जन गरी सचिवालयमा पेश गरेको थियो। तर, प्रतिवेदनमा तल्ला तहबाट आएका सुझावहरूलाई अनुसूचीमा समेट्ने विषयमा अध्यक्ष ओलीले सुरुमा असहमति जनाएका थिए। अन्य पदाधिकारीहरूको आग्रहपछि उनी प्रतिवेदन बुझ्न तयार भएपछि सोमबार बिहान १० बजे पुनः बैठक बस्ने गरी स्थगित भएको थियो।
सोमबार बसेको बैठकमा पनि अध्यक्ष ओलीले उक्त प्रतिवेदनलाई केन्द्रीय कमिटीको एजेन्डा बनाउन तयार नभएपछि कुनै निर्णय हुन सकेन। सचिवालयले प्रतिवेदन र आगामी बैठकका विषयमा कुनै निकास निकाल्न नसकेकाले अब केन्द्रीय कमिटीभित्र बन्ने वातावरणका आधारमा मात्रै थप प्रक्रिया अगाडि बढ्ने बुझिएको छ।
प्रतिक्रिया