काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले भोटेकोसीलगायतका बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकलाई ‘मृतक सरह’को कानुनी मान्यता दिन सरकारसँग जोडदार माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले बेपत्ताका परिवारले भोग्नुपरेको गम्भीर आर्थिक तथा कानुनी जटिलता समाधानका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।
बाढीपहिरोका कारण लामो समयदेखि बेपत्ता रहेका व्यक्तिका परिवारले पाउनुपर्ने राहत रकम प्राप्त गर्न नसकेको र उनीहरूको बैंक तथा दैनिक आर्थिक कारोबारसमेत ठप्प भएको भन्दै उनले चिन्ता व्यक्त गरे।
‘सुनकोसी, भोटेकोसी र त्रिशूलीको बाढीमा बेपत्ता भएका नागरिकका परिवारले पाउनुपर्ने राहत रोकिनुका साथै आर्थिक कारोबारसमेत प्रभावित भएको छ,’ बैठकमा बोल्दै दुलालले भने, ‘त्यसैले बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत प्रदान गरी परिवारहरूले भोगिरहेको समस्या समाधान गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’
मलेसिया रोजगारीमा सिन्डिकेटप्रति आपत्ति
यसैगरी, मलेसियाको वैदेशिक रोजगारीमा पछिल्लो समय देखिएको सिन्डिकेट व्यवस्थाप्रति पनि प्रमुख सचेतक दुलालले कडा आपत्ति जनाएका छन्। नेपालका १ हजार १ सयभन्दा बढी म्यानपावर कम्पनीहरूमध्ये केवल २५ वटालाई मात्र रोजगारीका लागि कामदार छनोट गर्ने अधिकार दिएर इतिहासमै पहिलो पटक सिन्डिकेट खडा गरिएको र यसले समग्र वैदेशिक रोजगार क्षेत्रमा समस्या सिर्जना गरेको उनले बताए।
प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाली समकक्षीसँगको भेटमा यस विषयमा असन्तुष्टि जनाइसकेको खबर आए पनि व्यावहारिक रूपमा भने सिन्डिकेट अझै कायमै रहनु गम्भीर विषय भएको उनको भनाइ थियो।
दुलालले भने, ‘सम्बन्धित मन्त्रालयले तत्काल कूटनीतिक पहल गरी यो सिन्डिकेट व्यवस्था खारेज गराउनुपर्छ। सबै म्यानपावर कम्पनीहरूले स्वस्थ र प्रतिस्पर्धात्मक रूपमा श्रमिक पठाउन पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्दछु।’
प्रतिक्रिया