काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा मोबाइल फोन प्रयोगमा कडाइ तथा प्रतिबन्धको घोषणा गरे पनि तेस्रो दिनको बैठकमा केही नेताहरूले मोबाइलमा लेखिएका टिप्पणी हेर्दै आफ्नो धारणा राखेका छन्।
ललितपुरमा जारी तेस्रो दिनको बैठकमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख (मेयर) समेत रहेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले पनि मोबाइल हेरेरै अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको समर्थनमा आफ्नो भनाइ प्रस्तुत गरिन्।
आफ्नो धारणा राख्ने क्रममा ढकालले पार्टीलाई सुदृढ र एकताबद्ध बनाएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा अहिल्यैदेखि जुट्नुपर्नेमा जोड दिइन्।
गत फागुनमा सम्पन्न निर्वाचनले पार्टीलाई ठूलो धक्का दिएको र त्यसको पराकम्प अझै कायम रहेको उल्लेख गर्दै उनले भनिन्, “पार्टीप्रति जनतामा किन निराशा छाएको हो? त्यसको एक धक्का हामीले गत निर्वाचनमा व्योहोरिसक्यौँ। त्यसको परकम्प साम्य नहुँदै अर्को चुनावी धक्काको तयारी हुँदैछ। पार्टीभित्रको एकता, कार्यकर्ताप्रतिको सम्मान र जनताप्रतिको जवाफदेहिताले मात्रै हामी आगामी चुनौतीको सामना गरेर विजय हासिल गर्न सक्छौँ।”
मैदानमा अझै पनि हजारौँ प्रतिबद्ध कार्यकर्ता र शुभचिन्तकहरू रहेकाले एमाले निराश हुनुपर्ने अवस्था नरहेको ढकालको दाबी थियो। गत निर्वाचनमा केही मतदाताहरू अल्गोरिदम (सामाजिक सञ्जालको प्रभाव) तथा कार्यशैलीगत असहमतिका कारण बहकिए पनि उनीहरूको मन एमालेमै रहेको भन्दै अबको निर्वाचनमा मनसँगै मत पनि फर्काउने वातावरण बनाउन उनले आग्रह गरिन्।
अध्यक्ष ओलीको प्रतिवेदनलाई उद्धृत गर्दै उनले थपिन्, “जनताको मन बुझेर, गल्ती सच्याएर, संवाद सुधारेर, संगठन जगाएर, नीति स्पष्ट पारेर र नयाँ विश्वास बनाएर मात्र आगामी चुनाव जित्न सकिन्छ। जिम्मेवारीमा रहेका सबै कमरेडहरूले प्रतिवेदनको यो अंश पालना गरेमा पार्टीको पक्षमा पुनः माहोल फर्किनेछ।”
साथै, लामो अन्तरालपछि केन्द्रीय कमिटीको बैठक बसेको र नयाँ निर्वाचनको चहलपहल सुरु भइसकेकाले यसै बैठकबाट स्थानीय तहको चुनावी रणनीति र कार्यसूचीबारे गहन छलफल चलाउनुपर्ने मागसमेत उनले अघि सारिन्।
प्रतिक्रिया