• २०८३ आश्विन २३ | Fri, 09 Oct 2026

  • ‘सुरक्षा थ्रेट’को कारण देखाई नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर घर फर्किए

    ‘सुरक्षा थ्रेट’को कारण देखाई नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर घर फर्किए

    काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आइतबार दिउँसो आफ्नै निवास फर्किएका छन्। प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको दाबी गर्दै शनिबार राति ३ बजे महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिई उनलाई टेकुस्थित कार्यालय पुर्‍याएको थियो।

    अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार दिउँसो २ बजेसम्म प्रहरी कार्यालयमा राखेपछि उनलाई छोराको जिम्मा लगाएर घर पठाइएको छ।

    राति डीएसपीको कमान्डमा पुगेको प्रहरी टोलीले सुरुआतमा असुरक्षाको कारण देखाउँदै आफूसँग हिँड्न भने पनि जबराले अस्वीकार गरेका थिए। उनले आफ्नो सुरक्षामा चुनौती भए घरमै थप प्रहरी तैनाथ गर्न आग्रह गरे पनि प्रहरी टोलीले ‘माथिको आदेश’ भन्दै लिएरै जाने अडान राखेपछि करिब दुई घण्टाको गलफतीपछि उनी जान तयार भएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिँदा कुनै पनि कानूनी कागजात वा पुर्जी दिएको थिएन।

    अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरामाथि भौतिक आक्रमण हुन सक्ने सूचना पाएकाले सुरक्षाका लागि ल्याइएको बताए। उनले भने, “उहाँलाई पक्राउ गरिएको होइन, नितान्त सुरक्षाका लागि यहाँ राखिएको हो। अब उहाँको निवासमै सुरक्षा व्यवस्था कडा बनाइनेछ।”

    यद्यपि, जबरामाथि कुन व्यक्ति वा समूहबाट भौतिक आक्रमणको खतरा थियो भन्नेबारे प्रहरीले केही खुलाएको छैन। यता प्रहरी हेडक्वाटर र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका उच्च अधिकारीहरूले भने यस कदमबारे आफूहरू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्। बिना कुनै कानूनी प्रक्रिया पूर्वप्रधानन्यायाधीशलाई मध्यराति निवासबाट उठाइएको विषयलाई लिएर चौतर्फी विरोध भइरहेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ आश्विन ११, आईतवार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP