• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • जेन–जी आन्दोलनका क्रममा फरार विदेशी कैदीबन्दी पक्राउ गर्न अब कूटनीतिक पहल

    जेन–जी आन्दोलनका क्रममा फरार विदेशी कैदीबन्दी पक्राउ गर्न अब कूटनीतिक पहल

    सरकारले जेन–जी आन्दोलनका क्रममा फरार भएका विदेशी कैदीबन्दी पक्राउ गर्न कूटनीतिक पहल थाल्ने भएको छ । सम्बन्धित देशका नेपालस्थित दूतावासमार्फत पहल थाल्ने तयारी गरेको हो । यसका लागि फरार विदेशी कैदीबन्दीको सूचीसहितको नोट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय हुँदै दूतावासमार्फत सम्बन्धित मुलुकमा पठाउनेछ ।

    गृह मन्त्रालयको तथ्यांकअनुसार हाल ३० मुलुकका ६४५ कैदीबन्दी फरार छन् । उनीहरूको सूचीसहितको नोट तयार पार्ने काम भइरहेको गृह मन्त्रालयमातहतको कारागार व्यवस्थापन विभागले जनाएको छ । विभागले कैदीबन्दीको सूची, उनीहरूको कसुर, भुक्तानी गर्न बाँकी कैद अवधिलगायत विषयलाई अंग्रेजी भाषामा उतार्ने काम गरिरहेको छ ।

    विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जेलबाट फरार भएका विदेशी कैदीबन्दी पक्राउ गर्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकका दूतावास हुँदै पहल थाल्ने तयारी भइरहेको बताए । ‘हालसम्मको तथ्यांकअनुसार देशका २० कारागारबाट ६४५ विदेशी कैदीबन्दी फरार रहेको देखिएको छ । त्यसमध्ये ५४२ जना भारतका मात्रै छन् । बाँकी १०३ कैदीबन्दी अन्य मुलुकका छन्,’ उनले भने, ‘उनीहरूलाई पक्राउ गर्न परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकका दूतावास हुँदै पहल थाल्न लागिएको छ । यसका लागि उनीहरूको सूचीसहितको नोट सम्बन्धित मुलुकका दूतावास पठाउने तयारी भइरहेको छ ।’

    फरारमध्ये २५२ कैदीबन्दी लागुऔषध कसुरका छन् । जुन कुल फरार संख्याको ३९.०६ प्रतिशत हो । त्यस्तै, जबर्जस्ती करणीका १०२ कैदीबन्दी फरार भएका छन् । यो कुल कैदीबन्दीको १५.८१ प्रतिशत हो । तथ्यांकअनुसार चोरी कसुरका ४६, सुन चोरी–पैठारीसँग सम्बन्धित ३६, कर्तव्य ज्यानका ३५, मानव बेचबिखनका ११, अपहरणका २२, सवारी ज्यान कसुरका २१, डाँका मुद्दाका १४ र हतियार खरखजाना कसुरका ११ कैदीबन्दी फरार छन् । त्यस्तै, अभोरस्टे कसुरका नौ, ठगीका सात, मुद्रासम्बन्धी ६, वन्यजन्तु कसुर र अभौतिक मुद्रासम्बन्धी तीन–तीन, राजस्व चुहावट, अभद्र व्यवहार, हुन्डी कसुर र खोटा चलनका दुई–दुई तथा एसिड प्रहार, अप्राकृतिक मैथुन, विद्युतीय कारोबार, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहनका एक–एक कैदीबन्दी फरार छन् । बाँकी ५४ कैदीबन्दीको भने कसुर खुलेको छैन ।

    तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट २९२ विदेशी कैदीबन्दी फरार भएका छन् । त्यस्तै, ललितपुरको नक्खु कारागारबाट ७५, सुनसरीको झुम्का कारागारबाट ४९, नवलपरासीबाट ३९, महोत्तरीबाट ३२, मकवानपुरको भीमफेदी कारागारबाट २७, बाँके र कैलालीबाट १९–१९ र कञ्चनपुरबाट १७ विदेशी कैदीबन्दी फरार भएका छन् । यसबाहेक कपिलवस्तुबाट १४, कास्कीबाट १३, रौतहट र चितवनबाट १२–१२, दाङको तुल्सीपुरबाट आठ, सप्तरीबाट ६, सिन्धुलीबाट पाँच, तनहुँबाट दुई तथा म्याग्दी र दार्चुलाबाट एक–एकजना फरार भएका छन् ।

    कारागार व्यवस्थापन विभागले उनीहरूलाई २८ भदौमै कालोसूचीमा राखिसकेको छ । देशका सबै अध्यागमन विभागमा उनीहरूको नामावली पठाइएको छ । उनीहरूका राहदानी पनि रद्द भएका छन् । यद्यपि, उनीहरू फरार भएको ५० दिनसम्म पनि राज्यले पक्राउ गर्न सकेको छैन । फरार हुनेमध्ये अधिकांश भारतीय नागरिक भएकाले उनीहरू दक्षिणतर्फका विभिन्न नाका हुँदै भारत प्रवेश गरेको विभागको दाबी छ ।

    विभागका महानिर्देशक शर्माले भने, ‘फरारमध्ये अधिकांश भारतीय नागरिक छन् । उनीहरूको नामावली सबै अध्यागमन कार्यालयमा पठाएका छौँ । तर, खुला सीमा भएको हुँदा उनीहरू भागेर भारत प्रवेश गरेको हाम्रो ठम्याइ छ । उनीहरूलाई पक्राउ गर्न सम्बन्धित दूतावासमा कसुरसहितको नोट पठाउनेछौँ ।’



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १६, आईतवार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP