माओवादी, एकीकृत समाजवादीलगायतका १० वाम दल–समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) घोषणा गरेका छन् । बुधबार राजधानीको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गर्दै उनीहरूले एकीकृत पार्टी घोषणा गरेका हुन् ।
नयाँ पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल एकीकृत पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा राखिएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको हो । एकता राष्ट्रिय सम्मेलनबाट प्राप्त सुझावका आधारमा अन्तरिम विधान र घोषणापत्र सर्वसम्मतिले पारित गरिएको छ । केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजकलाई दिइएको छ ।
एकतामा सामेल सबै पार्टी–नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन गर्ने प्रस्ताव पारित भएको छ । यसबाहेक त्यसअगाडि सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय भएको छ ।
एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य भएका छन् । एकतापूर्व तत्तत् दलको चुनाव चिह्नबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि भएका छन् । पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैंक सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुने निर्णय छ ।
नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले एकीकृत पार्टी देशकै ठुलो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् । एकता राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनीहरूले आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरेका हुन् । साथै, एकीकृत पार्टीमा जोडिन सम्पूर्ण वामपन्थी शक्तिलाई उनीहरूको सामूहिक आह्वान छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव नेपाललगायतका नेताले एकतालाई ऐतिहासिक कदमको संज्ञा दिँदै अब अभियान लिएर जनताकहाँ जाने र चुनावी तयारी पनि सँगसँगै गर्ने बताएका छन् । एकता मञ्चबाट उनीहरूले सम्पूर्ण कम्युनिस्ट घटकलाई एकता प्रक्रियामा आउन आह्वानसमेत गरेका छन् ।
संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीलाई देशको एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गरे । ‘अब नेपालमा नेकपालाई देशको नम्बर एक पार्टी बन्न कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो भयो,’ प्रचण्डले सम्बोधनमा भने, ‘कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला, नलागे पनि नलागोस् ।’
जेन–जी आन्दोलनले वाम घटकहरूलाई एक ठाउँमा ल्याउन भूमिका खेलेको भन्दै प्रचण्डले एकीकृत पार्टी जेन–जीका मर्म र भावनाअनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रिय राजनीतिमा देखा परेका चुनौती र संकट समाधानमा पार्टीले भूमिका खेल्ने बताए ।
प्रचण्डले असाधारण एकता भएको भन्दै पार्टी नयाँ ढंगले अगाडि बढ्ने बताए । ‘मलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिनुभएको छ । मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ,’ उनले भने, ‘कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हो । अझै विचार मिल्नेहरूसँग एकता प्रक्रिया अघि बढाउँदै लैजान्छौँ ।’
प्रचण्डले गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चामा रहेका दलका साथै एमाले र कांग्रेससँग पनि हातेमालो गर्न तयार रहेको बताए । ‘१० पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा छैनौँ । अझै एकताबद्ध गर्न तयार छौँ,’ प्रचण्डले भने, ‘समाजवादी मोर्चामा रहेका होस् या अन्य कम्युनिस्ट घटकहरू या एमालेसँग समेत बृहत् एकता गर्न तयार छौँ । राष्ट्र बचाउन तथा लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति सबैसँग हातेमालो गर्न तयार छौँ । गणतन्त्रको रक्षाका लागि कांग्रेससँग पनि सहकार्य गर्छौँ ।’
सह–संयोजक नेपालले अनेक अड्चनका बाबजुद लामो गृहकार्यपछि पार्टी एकतामा पुगेको बताउँदै आग्रह–पूर्वाग्रह नगरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै लैजाने बताए । उनले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेपाली कम्युनिस्ट पार्टी भएको दाबी पनि गरे । ‘नेकपाकालका ९ शीर्ष नेताहरूमध्ये ५ जना यहीँ छौँ । प्रचण्ड, म आफैँ, माधव नेपाल, जेएन खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ यही छौँ । त्यसैले मूल पार्टी यही भएको छ,’ उनले भने, ‘विगतको अनुभव समीक्षा गरेर अगाडि बढ्नुपर्नेछ ।’
त्यसैबीच, एकता सम्मेलनमा एकीकृत पार्टीका २३बुँदे प्रतिबद्धता पत्र र नौबुँदे प्रस्ताव पारित गरिएको छ । नवगठित पार्टीले जेन–जी पुस्ताका मुद्दा र आकांक्षाको सम्बोधन गर्न प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ । विगतका कामको समग्र समीक्षा गरेर भएका कमी–कमजोरीहरू सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्न तत्पर रहने पनि एकीकृत पार्टीको प्रतिबद्धता छ ।
नयाँ पार्टीले उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ । राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आमजनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने पनि उसले प्रतिबद्धता जनाएको छ । भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
अन्तिममा यसरी जोडिए झलनाथ
पार्टी पुनर्गठनको घोषणा गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि अन्तिम समयमा १० दल–समूहको एकता प्रक्रियामा जोडिएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको संवाद सकारात्मक नभएपछि र महासचिव घनश्याम भुसाल नयाँ पार्टीमा नेतृत्व दिन तयार नभएपछि खनाल अन्तिम समयमा प्रचण्ड–माधवसँगै एकता प्रक्रियामा जोडिएका हुन् । यद्यपि, यो प्रक्रियामा आफ्ना केही ‘रिजर्भेसन’ रहेको र प्रचण्डले ‘सम्बोधन गर्ने’ आश्वासन दिएको खनालको दाबी छ ।
खनाल–भुसालपक्षीय केन्द्रीय सदस्यहरूको भेलामा खनालले ‘माक्र्सवादमा पुस्ताको कुरा हुँदैन’ भन्दै नेतृत्व दाबी गरेका थिए । तर, भुसाल आफैँ नेतृत्व गर्न अघि सरेपछि खनाल सशंकित बनेको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार खनालले तत्काल आफूले संयोजन गर्ने र महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्न चाहेका थिए । तर, भुसाल तयार भएनन् । भुसालले नेतृत्व दाबी नगर्न खनाललाई दबाब दिन अरू नेतालाई पनि बोल्न लगाए । खनालले त्यसलाई सकारात्मक रूपमा लिएनन् ।
अर्कोतर्फ एमाले अध्यक्ष ओलीले एमालेमा फर्किन सार्वजनिक आग्रह गर्दा खनालले चारबुँदे सर्त माने फर्किन सकिने बताएका थिए । माक्र्सवाद लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, समाजवादी क्रान्तिको कार्यदिशा स्पष्ट हुनुपर्ने, समाजवादी कार्यक्रममा एकमत हुनुपर्ने र जबज त्याग्नुपर्ने सर्त अघि सारेका थिए । तर, त्यसमा ओली सकारात्मक थिएनन् । मंगलबार साँझ गुन्डुमै पुगेर खनालले ओलीसँग छलफलसमेत गरेका थिए । खनाललाई लिन ओलीका सहयोगी खनालनिवासमै पुगेका थिए । एमाले नेताहरूले छलफल सकारात्मक भएको प्रचार गरेका थिए । तर, खनालले श्रीमती रविलक्ष्मी चित्रकारको स्वास्थ्य उपचारका क्रममा देखाएको सद्भावका लागि धन्यवाद दिन गएको दाबी गरेका छन् ।
बुधबार बिहान प्रचण्डले खनालसँग छलफल गरेका थिए । बुधबारको छलफलमा प्रचण्डले खनालका चारबुँदे सर्तसँग कुनै विमति नभएको भन्दै सँगै अगाडि बढ्न आग्रह गरेका थिए । प्रचण्डले आफूले नै जोडबल गरेर विगतमा प्रधानमन्त्री बनाएको प्रसंगसमेत निकालेका थिए । खनालले राखेको आफूनिकट नेता तथा कार्यकर्ताको व्यवस्थापनमा समेत प्रचण्डले सम्बोधन हुने प्रतिबद्धता जनाएको एक नेताले बताए ।
प्रचण्डको जोडबलमा खनाल एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् । सुरुमा प्रचण्ड र खनालबिच मात्रै छलफल भएको थियो भने त्यसपछि प्रचण्ड, माधवकुमार नेपाल, खनाल र घनश्याम भुसालबिच संयुक्त छलफलसमेत भएको थियो । तर, भुसालले नेतृत्व हस्तान्तरणमा सहमति हुनुपर्ने विषय उठाएपछि कुरा मिलेको थिएन ।
खनाल एकता राष्ट्रिय सम्मेलनमा केही ढिला उपस्थित भएका थिए । उनले ढिला हुनुको कारण रहेको सम्बोधनकै क्रममा बताए । ‘मैले कमरेड प्रचण्डलाई ‘रिजर्भेसन’ भनिसकेको छु । उहाँले हामी त्यो कुरा मिलाउँछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ खनालले भने, ‘त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको विकल्प छैन भनेर एकतामा बल पुर्याउन आएको हुँ ।’
खनाल–भुसाल समूहलाई एकता प्रक्रियामा सहभागी गराउन एकीकृत समाजवादीको संस्थापन पक्षको भन्दा माओवादीको बढी जोड थियो । प्रचण्डसहितका नेता खनालसँग निरन्तर संवादमा थिए । नीतिमा फरक नभएको भन्दै एकीकृत आन्दोलनमा आउन माओवादी नेताले जोड गरेका थिए । यद्यपि, खनालले माओवादीसँग मात्रै एकता गरेर बृहत् वाम एकता नहुने बताउँदै आएका थिए ।
घनश्याम नयाँ पार्टीको तयारीमा, झाँक्रीसहितको टोली एमाले फर्किँदै
एकता प्रक्रिया अस्वीकार गर्दै पार्टी पुनर्गठन अभियानको घोषणा गरेका एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मंसिर पहिलो साता राष्ट्रिय भेला बोलाएका छन् । भेलाले आगामी कार्ययोजना तय गर्ने र पार्टी पुनर्गठनको अभियान अघि बढाइने उनले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । उनलाई नेताहरू डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, सुष्मा राईलगायतले साथ दिएका छन् ।
एकता प्रक्रियामा नगएकी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नेतृत्व गरेको एउटा समूह भने एमालेमा फर्किने भएको छ । बुधबार पत्रकार सम्मेलन नै गरेर उनीहरूले यसको जानकारी दिएका छन् ।
प्रतिक्रिया