महाधिवेशनको विषयलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ‘मध्यमार्गी’ बाटोबाट निकास निकाल्ने प्रयास थालेका छन् । केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनौपचारिक छलफललाई सघन बनाएका छन् । तर, नेताहरू अडानमा टसमस भएका छैनन् ।
महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने अडान संस्थापन र इतर पक्षले नछाडेका वेला देउवाले सहमतिको प्रयास थालेका हुन् । इतर पक्षलाई समेत विश्वासमा लिएर सहमतिमा पुग्ने प्रयासमा देउवा रहेको उनीनिकट एक नेताले बताए । सिंगापुरबाट फर्केपछि देउवाले पदाधिकारीसँग ‘वन टु वन’ र सामूहिक छलफल गरेका छन् । ती नेताका अनुसार देउवाले सोमबार आफूनिकट कार्यसम्पादन समितिका सदस्यहरूसँग छलफल गरेका छन् ।
नेताहरूसँग नियमित छलफलमा रहेका देउवाले इतर पक्षलाई समेत विश्वासमा लिएर मध्यमार्गी प्रस्ताव अघि बढाउन कार्यवाहक सभापति खड्कालाई निर्देशन दिएका छन् । ‘सबैसँग समन्वय गरेर पार्टीलाई एकताबद्ध गरेर जानुपर्छ । अहिले वादविवाद गरेर बस्ने वेला होइन । सबैलाई विश्वासमा लिएर मध्यमार्गी प्रस्ताव अघि बढाउनुस्,’ देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । केन्द्रीय कार्यसमिति बैठकबाटै निकास निकाल्ने ती सदस्यले दाबी गरे । तर, मध्यमार्गी प्रस्ताव के भन्ने पनि टुंगो लागिसकेको छैन । अझै छलफल गरेर मध्यमार्गी प्रस्ताव तयार पार्ने र त्यसैमा सहमति गरेर केन्द्रीय कार्यसमितिबाट निर्णयमा पुग्नुपर्नेमा देउवाको जोड छ ।
महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन घोषणाको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएका छन् । कार्यवाहक सभापति खड्कालाई ध्यानाकर्षण पत्र बुझाएर केन्द्रीय कार्यालय घेराउ गर्नेलगायतको तयारी छ । विशेष महाधिवेशन पक्षधरले अनामगनरमा सोमबार छलफल गरेर दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् । ‘हामी आजबाट नियमित महाधिवेशनको कुरा गर्दैनौँ । त्यसको च्याप्टर क्लोज भयो । विशेष महाधिवेशन एक मात्र विकल्प हो,’ नेता गुरुराज घिमिरेले भने, ‘कार्यवाहक सभापतिलाई ध्यानाकर्षण गराउँछौँ, पर्सि समय चाहियो भनेका छौँ । बैठक बस्ने दिन कार्यालय घेराउ गर्छौँ ।’
प्रतिक्रिया