एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न सम्पत्ति शुद्धीकरण विभागको प्रमुख नै फेरेको दाबी गरेका छन् । पार्टीको एघारौँ महाधिवेशन प्रचारका लागि सुरु गरिएको नवयुग इ–बुलेटिनको शनिबार पार्टी कार्यालयमा शुभारम्भ गर्दै ओलीले प्रधानमन्त्री कार्कीको नियतमाथि प्रश्न उठाए ।
‘प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई तीनपल्ट बोलाएर मलाई मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्यो भनेर दबाब दिनुभयो । तर, उहाँले यस्तो झुटो काम गर्न सक्दिनँ, कानुनमा त्यस्तो छैन, कानुनले नदिएको र नभएको काम गर्न पनि हुन्न, कसैले सक्छ भने त्यस्तो मान्छे ल्याए हुन्छ भन्नुभयो । यति भनेपछि तिनलाई तुरुन्तै त्यहाँबाट हटाएर अर्कोलाई ल्याइयो । प्रधानमन्त्री यस्तो हुनुहुन्छ, योभन्दा दु:खद स्थिति के हुन्छ ?’ ओलीले दाबी गरे । उनले जनमतविनाको सरकारमा रहेका अनाडी मान्छेले राजदूत फिर्ता गर्ने, अध्यादेश ल्याउने प्रयास गरिरहेको भन्दै विरोध जनाए ।
ओलीले वर्तमान सरकारले २१ फागुनमा चुनाव गराउन नसके पनि एमालेले चुनाव पर्खिरहेको बताए । ‘यो सरकारले फागुन २१ मा चुनाव त गराउँदैन, तर हामी शान्तिपूर्ण धाँधलीरहित वातावरणमा हुने चुनावको पर्खाइमा छौँ,’ ओलीले भने, ‘हामी जहिले चुनाव हुन्छ, त्यसैलाई पर्खिरहेका छौँ ।’ ओलीले अबको चुनावबाट आउने सरकार एमालेको हुने दाबी गरे ।
प्रतिक्रिया