काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढङ्गले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन् ।
सोमबार भृकुटीमण्डपस्थीत महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरूप ठीक ढङ्गले चलाउनका लागि नेतृत्वमा दाबी गरेको बताएका छन् । अध्यक्ष ओलीलाई चुनौती दिएर किन उम्मेदवारी दिन लाग्नुभएको भन्ने सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको बताए । उनले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । पोखरेलले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक मान्न नहुने जिकिर गरे ।
त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफूहरूलाई सहयोग गर्ने बताए ।
त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा भए पनि कसैप्रति पूर्वाग्रह नहुने बताए । उनले नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउनका लागि उम्मेदवारी दिएको बता ।
त्यस्तै उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए ।
त्यसैगरि सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टिमको घोषणा गरेकाले आफूहरूले पनि छुटै टिम घोषणा गरेको बताए । उनले अव सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुने जिकिर गरे ।
नेकपा एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टिम बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका छन् । एमाले नेतृत्व चयनका लागि मङ्गलवार निर्वाचन हुने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया