• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • विगत चार दिनदेखि दाउन्ने सडकमा समस्या

    विगत चार दिनदेखि दाउन्ने सडकमा समस्या

    पूर्व–पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्डकाे दाउन्नेमा विगत चार दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ । दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको हो।

    तिहार मनाएर काठमाडौं फर्कने यात्रुहरूलाई दाउन्नेको बाटोले सास्ती दिएको छ । दाउन्नेको उकालोमा सवारीसाधन उक्लन समस्या भएको छ । बाटो हिलो र चिप्लो हुँदा हिलोमा गाडी फस्ने, उकालोमा उक्लनै नसक्ने, चिप्लिनेलगायतका समस्या रहेका छन् । जसले गर्दा पटक–पटक सडक अवरुद्ध भएको छ । प्रहरीको तथ्यांकअनुसार यो चार दिनमा दुईपटक पूर्ण रूपमा सवारीसाधन अवरुद्ध भएको छ भने चारपटक भन्दा बढी एकतर्फी सवारीसाधन अवरुद्ध भएको छ ।

    शनिबार मात्रै घिउखोलामा साँझ माटो बोकेको ट्रक फस्दा करिब तीन घण्टा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसैगरी दाउन्ने सडकखण्डमा अहिले पाँचवटा सवारीसाधन बिग्रिएर बसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । जसले गर्दा अहिले दाउन्ने सडक ठाउँठाउँमा एकतर्फी रहेको छ।

    विनयी त्रिवेणी गाउँपालिका– २, त्रिसठ्ठी मोडमा बागमती प्रदेश ०३–००१ ख ०९५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रक स्टार्ट नभएर रोकिएको छ भने सोही स्थाननजिकै म १ ख ७४४ नम्बरको खाली ट्रक गियर बिग्रिएर समस्या आएको छ । त्यसैगरी काठमाडाैंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०७७६ नम्बरको बस पनि सोही स्थानमा बिग्रिएर बसेको छ।

    यता विनयी त्रिवेणी गाउँपालिका– २, ज्यामिरे चेकपोस्टनजिकै ना.७ ख ६६६४ नम्बरको खाली ट्रक र ना.७ ख ६०५३ नम्बर खाली ट्रक स्टार्ट नभएर रोकिएको छ ।

    सडकमा अहिले हजारौँको संख्यामा सवारीसाधनहरू जाममा लागेको छ । दाउन्ने बजारदेखि दुम्कीबाससम्म करिब ७ किलोमिटर खडकखण्डमा सवारीसाधनको लामो लाइन लागेको स्थानीयले बताएका छन् । यहाँ दैनिकजसो हिलो र चिप्लोले सवारीसाधन बिग्रने तथा फस्ने गरेको छ । जसले गर्दा यात्रुहरू घण्टौँ जाममा पर्ने गरेका छन्।

    सडक विभागले सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीलाई दसैँअगाडि नै यात्रा सहज गराउन निर्देशन दिएको भए पनि दाउन्नेमा १४ किलोमिटर सडकखण्डमध्ये पश्चिम खण्डको तीन किलोमिटर मात्र पूर्ण रूपमा कालोपत्रे भएको छ भने केही ठाउँमा ढलानको काम सकिएको छ । बाँकी अधिकांश क्षेत्र कच्ची र खाल्टाखुल्टी रहेको छ।

    दाउन्नेको चार ठाउँमा कल्भर्ट निर्माणको काम नसकिएकाले सडक एकतर्फी रहेको छ भने ढलानको काम भइरहेका ठाउँहरूमा पनि सडक एकतर्फी रहेका छन् । जसले गर्दा दाउन्नेमा सामान्य पानी पर्ना साथ यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक १६, आईतवार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP