• २०८३ बैशाख १७ | Thu, 30 Apr 2026

  • भन्सारको १०० रुपैयाँको प्रावधान अव्यवहारिक भन्दै गगन थापाद्वारा तत्काल फिर्ता लिन माग

    भन्सारको १०० रुपैयाँको प्रावधान अव्यवहारिक भन्दै गगन थापाद्वारा तत्काल फिर्ता लिन माग

    नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सीमा क्षेत्रमा लागू गरिएको १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने सरकारी प्रावधान तत्काल फिर्ता लिन माग गरेका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ को सीमावर्ती मधुवनी क्षेत्रको दुई दिने भ्रमण र नागरिकसँगको प्रत्यक्ष अन्तर्क्रिया पछि नेता थापाले यस्तो धारणा राखेका हुन्।

    भ्रमणबाट फर्किए लगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै थापाले सरकारको यो निर्णयले सीमा क्षेत्रका नागरिकको दैनिकी अत्यन्तै कष्टकर बनाएको बताए। सीमामा एउटा बिस्कुटको प्याकेट बोक्ने मजदुरले घण्टौँ कुर्नुपर्ने र सर्वसाधारणले सम्मानको सट्टा डरका साथ हिँड्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनले यसलाई राज्यको ‘हेपाहा नीति’ को संज्ञा दिए।

    नेता थापाले यो प्रावधान विगतदेखि नै कानुनको पानामा भए पनि यसको अव्यवहारिकता बुझेरै यसअघिका सरकारहरूले कार्यान्वयन नगरेको स्पष्ट पारे। आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा समेत यो व्यवस्था हटाउन नसक्नु राजनीतिक कमजोरी रहेको स्वीकार गर्दै उनले अब यसलाई सच्याउने जिम्मेवारी पनि आफूहरूकै भएको उल्लेख गरे।

    भन्सार विभाग स्वयंले पनि यसबाट उल्लेख्य राजस्व नउठ्ने स्वीकार गरिरहेको सन्दर्भमा, राज्यले मधेसका हरेक भान्सा र सर्वसाधारणको सहज आवतजावतमा अवरोध खडा गर्नु अन्यायपूर्ण रहेको उनको तर्क छ। विशेष गरी महिला, विद्यार्थी, किसान र श्रमिक वर्ग यसको मारमा परेको भन्दै थापाले सीमामा पहिलेको जस्तै सहजता सुनिश्चित गर्न र यो अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन सरकारसँग कडा माग गरेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख १७, बिहीबार ०८:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP