काठमाडौं । नेकपा (एमाले) ले पार्टीको संगठनात्मक संरचनालाई आधुनिक प्रविधिसँग जोड्दै सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक प्रदर्शनात्मक (डेमो) बैठकमा संगठन विभागले प्रस्ताव गरेको नयाँ डिजिटल मोडेलबारे विस्तृत छलफल गरिएको हो।
पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेश तहका नेता र जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त बैठकले अनलाइन प्रणालीमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र अभिलेख व्यवस्थापनलाई एकीकृत गर्ने कार्ययोजना अघि सारेको छ। बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता अभियानले पार्टीको आन्तरिक जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
संगठन विभागका संयोजक एवं पार्टी सचिव भानुभक्त ढकालले केन्द्रदेखि वडा तहसम्म नै अब डिजिटल अभिलेखीकरण अनिवार्य गरिएको जानकारी दिनुभयो। नयाँ व्यवस्था अनुसार एमालेका सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै स्थानीय तहमा यो प्रणाली एकैसाथ लागु गरिने तयारी छ। सदस्यता प्रक्रियालाई थप सहज बनाउन प्रत्येक पालिकामा भौतिक उपस्थितिमा सहजीकरण गरिने र पार्टीको कामसँग जोडेर मात्र सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाइनेछ। यसका साथै अब केन्द्रीय सदस्यदेखि वडा तहका कार्यकर्तासम्मको विस्तृत बायोडाटा अनलाइन प्रणालीमै संकलन र सुरक्षित गरिनेछ।
पार्टीले सदस्यता नवीकरणका लागि आगामी जेठ मसान्तसम्मको अन्तिम समयसीमा प्रस्ताव गरेको छ। यस अवधिभित्र डिजिटल माध्यमबाट आफ्नो सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था समेत लागु गरिने सचिव ढकालले स्पष्ट पार्नुभयो।
प्रतिक्रिया