ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको कार्यशैलीबाट सशंकित बनेका निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको छ। आइतबार ललितपुरस्थित हिमालयन होटलमा आयोजित छलफलमा उहाँले व्यवसायीहरूलाई नतर्सिन र निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो।
विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको पक्राउ र भन्सारमा ‘एमआरपी’ स्टिकर सम्बन्धी नयाँ नियमको कडाइपछि निजी क्षेत्र सरकारप्रति निकै असन्तुष्ट र त्रसित देखिएको थियो। व्यवसायीहरूको मनोबल खस्किएको गुनासो आएपछि लामिछानेले उनीहरूसँग प्रत्यक्ष संवाद गर्नुभएको हो।
भेटका क्रममा सभापति लामिछानेले अबको सरकारले व्यक्ति विशेषलाई नभई नीतिगत रूपमै सबै व्यवसायीलाई संरक्षण गर्ने बताउनुभयो। “आगामी दिनमा व्यक्तिले कसैलाई संरक्षण गर्ने होइन, नीतिले नै संरक्षण गर्ने वातावरण बनाउँदै छौँ,” उहाँले भन्नुभयो, “पहिले भएका समस्या समाधान गर्छौँ, निजी क्षेत्र सशंकित हुनु पर्दैन।”
सरकारको हालैका कदमहरूको बचाउ गर्दै उहाँले केही सीमित पात्रहरूले अर्थतन्त्र नै मुठ्ठीमा राख्न खोजेका कारण सरकार निर्मम बन्नुपरेको स्पष्ट पार्नुभयो। उहाँले थप्नुभयो, “तपाईंहरू डराउनुपर्ने कुनै कारण छैन, हामी व्यवसायीलाई दुःख दिन चाहँदैनौँ। तर सुशासन र आर्थिक वृद्धिको नयाँ दिशा (डिपार्चर) मा जाँदा केही असहजता हुनु स्वाभाविक हो।”
छलफलमा सहभागी नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेका अनुसार लामिछानेले सरकारको ‘वाचापत्र’ कार्यान्वयनका लागि निजी क्षेत्रको सहयोग अनिवार्य रहेको उल्लेख गर्नुभएको थियो। लामिछानेले अब व्यवसायीहरूले कुनै नेता वा पार्टी कार्यालय धाउनुपर्ने परम्पराको अन्त्य हुने र प्रणालीबाटै समस्याको सम्बोधन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले यसअघि व्यवसायीलाई पक्राउ नगर्ने बताए पनि गोल्छा पक्राउ परेपछि निजी क्षेत्रले सरकारको नियतमाथि प्रश्न उठाउँदै आएको थियो। आजको भेटमा लामिछानेले सरकार र निजी क्षेत्रबीचको विश्वासको खाडल पुर्ने प्रयास गर्नुभएको छ।
प्रतिक्रिया