नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउने उद्देश्यका साथ आगामी वैशाख ३० गते काठमाडौँमा बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले प्रदेशभरका अगुवा कार्यकर्ताहरूलाई समेटेर विशेष भेला गर्ने निष्कर्ष निकालेको हो।
विशेषगरी वैशाख १८ गते बसेको पूर्णबहादुर खड्का समूहका शीर्ष नेताहरूको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने र ‘जरा अभियान’ लाई प्रभावकारी बनाउने निर्णय गरेको थियो। सोही योजना अनुरूप बागमती प्रदेशको जिम्मेवारी पाएका नेताहरू प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले प्रदेशस्तरमा अभियानलाई अगाडि बढाउन यो भेला आह्वान गरेका हुन्। भेलामा पार्टीको साङ्गठनिक अवस्था, सदस्यता नवीकरण र अभियानलाई जिल्ला तथा वडा तहसम्म पुर्याउने रणनीतिका बारेमा विस्तृत छलफल हुने जनाइएको छ।
चाक्सीबारीमा भएको उक्त छलफलमा नेताहरू प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, जितजंग बस्नेत, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, रामेछापका निलम्बित सभापति कान्छाराम तामाङ र काठमाडौँका पूर्वजिल्ला सभापति भीमसेनदास प्रधान लगायतका नेताहरूको उपस्थिति रहेको थियो। यो भेलाले बागमती प्रदेशमा पार्टीको आन्तरिक संगठनलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेताहरूले विश्वास लिएका छन्।
प्रतिक्रिया