• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ: राष्ट्रपति पौडेल

    ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ: राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकमा रहेको अथाह ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने बताउनुभएको छ। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको ‘ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।

    उत्पादन र नीति निर्माणमा सहभागिता राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका असल अभ्यासहरूलाई पाठ्यक्रम वा अन्तरक्रियाका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “शारीरिक रूपमा सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई उत्पादनमूलक काममा जोड्नुपर्छ। साथै, उनीहरूसँग सम्बन्धित नीति निर्माण र सामुदायिक क्रियाकलापमा ज्येष्ठ नागरिकको अनिवार्य प्रतिनिधित्व गराइनुपर्छ।”

    राज्यलाई सुझाव र चुनौतीको चर्चा नेपालको जनसङ्ख्या विस्तारै बुढ्यौलीतर्फ उन्मुख हुँदै गएकोप्रति संकेत गर्दै राष्ट्रपतिले सरकारलाई दीर्घकालीन सोचका साथ व्यावहारिक कार्ययोजना बनाउन आग्रह गर्नुभयो। युवा जनशक्ति वैदेशिक रोजगारीमा जाँदा ज्येष्ठ नागरिकहरूले एक्लोपन र पारिवारिक असहयोग भोग्नुपरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। “परिवारमै स्थापित भएर सम्मानित जीवनयापन गर्न पाउनु ज्येष्ठ नागरिकको अधिकार हो,” उहाँले भन्नुभयो।

    पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मरण कार्यक्रममा राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको योगदानको चर्चा गर्नुभयो। वि.सं. २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले नै नेपालमा पहिलोपटक वृद्धभत्ता वितरण सुरु गरेको स्मरण गर्दै उहाँले अधिकारीलाई एक सरल, सादगी र उदारवादी वामपन्थी नेताका रूपमा चित्रण गर्नुभयो।

    नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइराला र गणेशमान सिंहसँगै मनमोहन अधिकारीले पुर्‍याएको योगदानको चर्चा गर्दै राष्ट्रपतिले उहाँप्रति श्रद्धासुमन समेत प्रकट गर्नुभयो। ज्येष्ठ नागरिकहरू समाजको विशिष्ट वर्ग भएकाले उनीहरूलाई उचित स्वास्थ्य उपचार र आधारभूत सुविधाको सुनिश्चितता हुनुपर्नेमा उहाँको जोड थियो।



    radiomirmire radiomirmire    
  • २०८३ बैशाख २६, शनिबार ०५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP