नुवाकोट नुवाकोटको म्यागङ गाउँपालिकामा सामान्य विवादले उग्र रुप लिँदा एकै परिवारका दुई दाजुभाइको बीभत्स हत्या भएको छ । कुलोमा पानी लगाउन गएका बेला छिमेकीसँग भएको सामान्य भनाभनका क्रममा गोली प्रहार गरी हत्या गरिएको हो ।
गएको मंगलबार (वैशाख २९ गते) बिहान म्यागङ गाउँपालिका–४ निवासी ४३ वर्षीय समराज तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङ घरबाट कुलोमा पानी लगाउन निस्किएका थिए । सोही क्रममा बाटोमा ३६ वर्षीय छिमेकी धनबहादुर तामाङसँग उनीहरूको जम्काभेट भयो ।
पहिलेदेखि नै सामान्य विवाद हुँदै आएका उनीहरूबीच मंगलबार पनि भनाभन सुरु भयो । विवाद बढ्दै जाँदा राति धनबहादुरले भरुवा बन्दुक प्रयोग गरी दुवै दाजुभाइको ज्यान लिएका हुन् ।
हत्यापछि अभियुक्त धनबहादुरले आफैं नुवाकोट प्रहरीको कन्ट्रोल रुममा फोन गरेर आफूले समराज र सूर्यमानको हत्या गरेको जानकारी दिएका थिए । त्यसअघि नै गोलीको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरिसकेका थिए ।
खोजतलासको क्रममा बुधबार म्यागङ गाउँपालिका–१ स्थित तोमजोङ खोलामा ढुंगाले च्यापेको अवस्थामा दाजुभाइको शव फेला परेको थियो । घटनास्थलमा एउटा खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हत्यामा संलग्न मुख्य अभियुक्त धनबहादुर तामाङ र सोमबहादुर तामाङलाई धादिङको खनियाँबास गाउँपालिका–भीरवनबाट आज बिहान पक्राउ गरिएको छ । उनीहरूको साथबाट ३ थान भरुवा बन्दुक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सह–प्रवक्ता प्रहरी उपरीक्षक बीर बहादुर बुडाऐरले जानकारी दिए ।
घटनास्थलबाट यसअघि नै अन्य ४ जनालाई नियन्त्रणमा लिइएको थियो । योसँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।
मृतक सूर्यमान नुवाकोटमै निर्माण व्यवसायीका रुपमा कार्यरत थिए भने उनी नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत हुन् । उनका दाइ समराज गत वर्ष मात्रै कतारबाट फर्केर भाइको व्यवसायमा सघाउँदै आएका थिए ।
समराजको परिवार: उनकी ११ वर्षीया छोरी छिन् भने श्रीमतीसँग केही समयअघि सम्बन्ध विच्छेद भएको थियो ।
सूर्यमानको परिवार: उनकी श्रीमती रोजगारीका लागि क्रोसियामा छिन् भने ८ वर्षका छोरा काठमाडौंमा अध्ययनरत छन् ।
अहिले दुवैको शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ । पुरानो रिसिइबीका कारण यो दुखद घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया