• २०८३ जेष्ठ ११ | Mon, 25 May 2026

  • प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ आजै, ‘फास्ट ट्र्याक’ प्रक्रियाप्रति विपक्षीको आपत्ति

    प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माको संसदीय सुनुवाइ आजै, ‘फास्ट ट्र्याक’ प्रक्रियाप्रति विपक्षीको आपत्ति

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस हुनुभएका डा. मनोज शर्माको संसदीय सुनुवाइ आजै दिउँसो साढे १ बजे हुने भएको छ। संसदीय सुनुवाइ समितिका सचिव तुलबहादुर कडेलले प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ प्रक्रियाका लागि उपस्थितिको आवश्यक व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्राचार गरिसक्नुभएको छ। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा र राष्ट्रपतिबाट नियुक्ति पाएमा शर्मा आजै प्रधानन्यायाधीश बन्नुहुने कानुनी व्यवस्था छ।

    यसअघि मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध परेका उजुरीहरू अध्ययनका लागि सदस्यहरूलाई वितरण गरिएको थियो। उहाँविरुद्ध समितिमा कुल १६ वटा उजुरी दर्ता भएका छन्। उजुरी वितरण गरेलगत्तै मंगलबार नै समितिले उजुरीकर्ताहरूसँग छलफल गरिसकेको छ भने आजै सुनुवाइको सम्पूर्ण प्रक्रिया टुङ्ग्याउने समितिको तयारी छ। संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतको चौथो वरीयतामा रहनुभएका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

    समितिले द्रुत मार्ग (फास्ट ट्र्याक) बाट सुनुवाइ प्रक्रिया अघि बढाएपछि विपक्षी दलका सांसदहरूले भने गम्भीर आपत्ति जनाएका छन्। बैठकमा समिति सदस्य पद्मा अर्यालले विगतमा उजुरीका विषयमा अध्ययन गर्न पर्याप्त समय पाइने गरेको स्मरण गराउँदै अहिले हतार-हतार प्रक्रिया अघि बढाउनु न्यायोचित नहुने धारणा राख्नुभयो। त्यस्तै, अर्का सदस्य वर्षमान पुनले सुनुवाइ समितिको कार्यतालिका परिवर्तन गर्दा सबै सदस्यहरूसँग अनिवार्य छलफल र समन्वय गर्नुपर्ने माग गर्नुभयो।

    विपक्षीको विरोध रहँदा-रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भने सुनुवाइ प्रक्रियालाई धेरै नलम्ब्याई छिटो निष्कर्षमा पुर्‍याउनुपर्ने धारणा राखेका थिए। सदस्यहरूबीच मतभेद देखिपछि समिति सभापति बोधनारायण श्रेष्ठले विशेष परिस्थितिमा विशेष निर्णय लिनुपर्ने भन्दै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। न्यायालय लामो समयदेखि आन्तरिक द्वन्द्वमा फसिरहेकाले छिटो सुनुवाइ गर्दा त्यो द्वन्द्व कम हुने दाबी गर्दै सभापति श्रेष्ठले यो छोटो समयमा कति काम गर्न सकिन्छ भन्ने एउटा सकारात्मक परीक्षण समेत भएको उल्लेख गर्नुभयो।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ ५, मंगलवार ०६:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP