• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

  • तीन तहका सरकारमा सरकारी कर्मचारीको संख्या ८५ हजारभन्दा बढी, महिला सहभागिता ३० प्रतिशत पुग्यो

    तीन तहका सरकारमा सरकारी कर्मचारीको संख्या ८५ हजारभन्दा बढी, महिला सहभागिता ३० प्रतिशत पुग्यो

    काठमाडौँ । नेपालका तीनवटै तहका सरकारी निकायमा कार्यरत कर्मचारीको संख्या ८५ हजारभन्दा माथि पुगेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा पेस गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हाल सरकारी सेवामा कार्यरत कुल कर्मचारीको संख्या ८५ हजार २४० रहेको छ। यसमध्ये पुरुष कर्मचारीको संख्या ५९ हजार ६८५ छ भने महिलाको संख्या २५ हजार ५५५ रहेको छ।

    पछिल्लो समय सरकारी सेवामा महिला कर्मचारीको उपस्थिति निकै उत्साहजनक रूपमा वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणले देखाएको छ। आर्थिक वर्ष २०६४/६५ मा निजामती सेवामा महिलाको संख्या मात्र १२ प्रतिशत रहेकोमा, २०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएको तथ्याङ्क हेर्दा तीन तहकै सरकारी निकायमा महिला कर्मचारीको सहभागिता बढेर ३० प्रतिशत पुगेको छ।

    विशेष गरी नेपाल स्वास्थ्य सेवामा पुरुषको तुलनामा महिला कर्मचारीको संख्या धेरै देखिएको छ। स्वास्थ्य सेवातर्फ ५४.७ प्रतिशत महिला र ४५.३ प्रतिशत पुरुष कर्मचारी कार्यरत छन्। यद्यपि, संवैधानिक पदाधिकारीतर्फ भने महिलाको सहभागिता अझै न्यून अर्थात् १०.४ प्रतिशत मात्र रहेको सर्वेक्षणमा उल्लेख छ।

    यसै गरी, २०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका कुल कर्मचारीमध्ये सबैभन्दा ठूलो हिस्सा संघीय सरकार मातहत रहेको छ। सर्वेक्षण अनुसार कुल कर्मचारीमध्ये संघमा ४६.८ प्रतिशत, प्रदेशमा १६.२ प्रतिशत र स्थानीय तहमा ३७ प्रतिशत कर्मचारी कार्यरत रहेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ जेष्ठ १३, बुधबार ०९:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP