काठमाडौँ — नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले निर्वाचन आयोगलाई संघीय ढाँचामा तल्लो तहसम्मै प्रभावकारी बनाउन र सूचना प्रविधिको दुरुपयोग नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ।
बुधबार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइ प्रक्रियाका क्रममा बोल्दै नेता दंगालले आयोगको ध्यान केन्द्रमा मात्र सीमित नभई पालिका वा जिल्ला तहसम्मै मतदाता नामावली अद्यावधिक गर्ने र उपनिर्वाचनजस्ता कार्य सहजीकरण गर्नेतर्फ जानुपर्नेमा जोड दिनुभयो।
प्रस्तावित प्रमुख आयुक्त कार्कीले पेस गर्नुभएको कार्ययोजना र अवधारणाको प्रशंसा गर्दै उहाँले सूचना प्रविधि, प्रशासनिक र कानुनी सुधारका पक्षहरू सन्तुलित रूपमा समेटिएको बताउनुभयो। साथै कार्कीविरुद्ध परेका उजुरीबारे अदालतबाट निर्णय भइसकेकाले त्यसमा थप बहस आवश्यक नरहेको उहाँको भनाइ थियो।
यद्यपि, निर्वाचनमा भाग नलिने दलहरूलाई खारेज गर्ने कार्कीको प्रस्तावप्रति भने नेता दंगालले असहमति जनाउनुभयो। राजनीतिक दलहरूको स्थापना फरक-फरक उद्देश्यले हुने र सबैको लक्ष्य निर्वाचन मात्र नहुने तर्क गर्दै उहाँले भन्नुभयो, “निर्वाचनमा भाग नलिएकै आधारमा दल खारेज गर्ने पक्षमा म छैन। तर, नियमित रूपमा विवरण अद्यावधिक नगर्ने र कानुनी प्रक्रिया पालना नगर्ने दलका हकमा भने सोच्न सकिन्छ।”
वर्तमान समयमा आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम र डिजिटल प्लेटफर्ममार्फत फैलाइने मिथ्या सूचना तथा घृणास्पद अभिव्यक्ति निष्पक्ष निर्वाचनका लागि ठूलो चुनौती बनेको भन्दै उहाँले यस्ता दुरुपयोग रोक्न आयोग सतर्क हुनुपर्ने बताउनुभयो।
प्रतिक्रिया