नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अवैधानिक नभएको दाबी गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै थापाले विशेष महाधिवेशन वैधानिक भएको बताएका हुन्। कांग्रेसको विधान निर्वाचन आयोगबाटै प्रमाणित भएको उनले उल्लेख गरे।
‘संविधानको व्यवस्था के छ, राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था के छ? त्यसको आधारमा हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित भएको विधान हो,’ थापाले भने।
त्यही विधानका आधारमा विशेष महाधिवेशन आयोजना गरिएको उनको भनाइ थियो। ‘आज यो विषयमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, नेपालको निर्वाचन आयोगले एक, दुई, तीन हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दैसक्दैन, ढुक्क भएर बस्नुस्,’ महामन्त्री थापाले भने।
विशेष महाधिवेशनको वैधानिकताका विषयमा आफूले छलफल गरिसकेको बताए। बन्दसत्रमा महाधिवेशन प्रतिनिधिलाई ढाडस दिँदै थापाले भने, ‘त्यसको आधार के छ भनेर मैले कानुन व्यवसायीसँग कुरा गरेको छु।’
प्रतिक्रिया