राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सहिद दिवसको अवसरमा भावुक सन्देश दिँदै अब फेरि कसैले पनि सहिद बन्नु नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले ८५ वर्षअघि राणा शासनविरुद्ध आवाज उठाउँदा ज्यान गुमाएका गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना अझै अधुरा रहेको उल्लेख गरेका छन्।
शाहका अनुसार राणा शासनको अन्त्य त भयो, तर राज्यको चरित्र परिवर्तन हुन सकेन। ‘व्यवस्था पटक–पटक फेरियो, तर सत्ताको सोच र व्यवहार उस्तै रह्यो’ उनले लेखेका छन्। उनका अनुसार यिनै कारणले नेपाली जनता पटक–पटक बलिदान दिन बाध्य भए, तर सहिदहरूले देखेको न्यायपूर्ण र जनमुखी राज्य अझै निर्माण हुन सकेको छैन।
उनले गत भदौमा भएको जेन–जी आन्दोलनलाई स्मरण गर्दै सुशासन र भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा तथा विद्यार्थीले जीवन गुमाउनुपरेको घटनालाई पनि जोड दिएका छन्। ‘८५ वर्षअघि जस्तै अहिले पनि परिवर्तनको मूल्य जीवनबाट चुकाउनुपरेको यथार्थ दुःखद छ,’ उनले उल्लेख गरेका छन्।
शाहले अब सहिदका बलिदानलाई नारामा सीमित नराखी व्यवहारमै उतार्नुपर्नेमा जोड दिएका छन्। भ्रष्टाचार अन्त्य, सुशासन स्थापना, राज्यका निकायमा दलीय हस्तक्षेप रोक्ने र उत्तरदायी तथा पारदर्शी शासन प्रणाली निर्माण गर्नु अहिलेको मुख्य दायित्व भएको उनको भनाइ छ।
‘सहिदको रगतलाई बेवास्ता गर्ने छुट अब कसैलाई छैन,’ शाहले लेखेका छन्, ‘अब समय आएको छ– सहिदका सपना पूरा गर्ने। सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश बनाउने। यसपटकको सहिद दिवस सबै ज्ञात–अज्ञात सहिदप्रति सच्चा प्रतिबद्धता व्यक्त गर्ने अवसर हो, ता कि अब फेरि कसैले सहिद बन्नु नपरोस्।’
यसैबिच, सहिद दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्र र जनताका लागि जीवन बलिदान गर्ने सहिदहरूको स्मरण गरिएको छ।
प्रतिक्रिया