काठमाडौँ, जेठ ५
घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको रोमान्चक भिडन्तमा नेपालले लिग तालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। यस जितसँगै नेपालले शृंखलाको पहिलो खेलमा स्कटल्यान्डसँग व्यहोरेको २ रनको (डीएल मेथड) हारको बदला समेत लिएको छ।
सन्दीप लामिछानेको ऐतिहासिक विश्व कीर्तिमान
खेलको मुख्य आकर्षण लेग स्पिनर सन्दीप लामिछानेको ऐतिहासिक प्रदर्शन रह्यो। स्कटल्यान्डविरुद्ध सुरुवाती २ विकेट लिएसँगै सन्दीप एकदिवसीय (ODI) क्रिकेटको इतिहासमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान भंग गर्दै यो नयाँ विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
खेलको २०औँ ओभरको अन्तिम बलमा स्कटल्यान्डका खतरनाक ब्याटर ब्रान्डोन म्याकमुलेनलाई आउट गर्दै सन्दीपले यो उपलब्धि हासिल गरे। उनले खेलमा कुल ३ विकेट लिए। यस्तै, पछिल्ला खेलहरूमा लय समात्न संघर्ष गरिरहेका ललित राजवंशीले उत्कृष्ट पुनरागमन गर्दै २५ रन खर्चेर महत्वपूर्ण ४ विकेट चटकाए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवको नाममा समान १–१ विकेट रह्यो।
स्कटल्यान्ड १९४ रनमा अलआउट
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रन बनाउँदा अलआउट भएको थियो। स्कटल्यान्डका लागि ब्रान्डोन म्याकमुलेनले सर्वाधिक ७३ रनको आक्रामक पारी खेले। उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै माइकल इङ्लिसले ५१ रन र मार्क वाटले २० रन जोडे पनि अन्य ब्याटर नेपाली बलिङसामु टिक्न सकेनन्। कप्तान रिची बेरिंगटन १२ रनमा बोल्ड भए।
नेपालको बलियो ब्याटिङ: कप्तान रोहित र इसानको शतकीय साझेदारी
१९५ रनको लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गर्यो। ओपनर आशिफ शेख (१७ बलमा २९ रन) र कुशल भुर्तेल (२७ बलमा २८ रन) ले ६.४ ओभरमा ५८ रनको आक्रामक साझेदारी गर्दै जितको बलियो आधार खडा गरे।
मध्यक्रममा कप्तान रोहित पौडेल र युवा ब्याटर इसान पाण्डेले तेस्रो विकेटका लागि १०४ रनको सानदार शतकीय साझेदारी गरे। अमेरिकाविरुद्धको खेलबाट ओडीआईमा डेब्यु गरेका इसानले आफ्नो दोस्रो खेलमै उत्कृष्ट अर्धशतक (५५ रन, ६१ बल) प्रहार गरे।
कप्तान रोहित पौडेल ९८ बलमा ६८ रन बनाउँदै अविजित रहे भने आरिफ शेख ८ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरी भने २ रनमा आउट भए। नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।
अंक तालिकामा नेपालको छलाङ
यो जितसँगै नेपाल लिग–२ को अंक तालिकामा दुई स्थान सुधार गर्दै पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले नामिबिया र क्यानडालाई पछि पारेको हो। नेपालले हालसम्म खेलेका २७ खेलमध्ये १० मा जित र १५ मा हार ब्यहोरेको छ भने दुई खेल अंक बाँड्दै २२ अंक जोडेको छ।
हारका बावजुद स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमै यथावत् छ भने अमेरिका २६ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ।
महत्त्वपूर्ण समीकरण: लिग–२ को शीर्ष चारभित्र पर्न सके नेपालले सोझै विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछ र ओडीआई (एकदिवसीय) वरीयता जोगिनेछ। अन्यथा नेपालले प्लेअफ खेल्नुपर्ने बाध्यता हुनेछ।
नेपालले जारी शृंखलाको आफ्नो अन्तिम खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ।
प्रतिक्रिया