२०८३ कार्तिक २३,
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका दिन देशभर विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरेको छ। उक्त माग धान्न आवश्यक पर्ने सम्पूर्ण विद्युत् आन्तरिक उत्पादनबाटै उपलब्ध हुने प्राधिकरणले स्पष्ट पारेको छ।
हाल नेपालमा विद्युत्को कुल उत्पादन क्षमता करिब २ हजार ५०० मेगावाट हाराहारी पुगेकाले मागभन्दा करिब ८०० मेगावाट बढी विद्युत् उपलब्ध हुने देखिएको छ। यसले गर्दा तिहारभर विद्युत् आपूर्तिमा कुनै समस्या नआउने र सेवा सहज एवं भरपर्दो रहने प्राधिकरणका अधिकारीहरूले जनाएका छन्। तिहार र छठ पर्वलाई लक्षित गर्दै विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राखिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पर्वका बेला आपूर्ति नियमित बनाउन उच्च व्यवस्थापन र प्रादेशिक प्रमुखहरूलाई आवश्यक निर्देशन दिइसकेको छ। कुनै प्राविधिक समस्या आएमा तत्काल समाधान गर्न प्राविधिक टोलीलाई २४ सै घण्टा सतर्क अवस्थामा राखिएको छ भने उपभोक्ताका गुनासो सुन्न ‘नो लाइट’ सेवालाई प्रभावकारी बनाइएको छ। साथै, प्राधिकरणले तिहारका बेला गुणस्तरीय विद्युतीय सामग्री मात्र प्रयोग गर्न र आवश्यक सावधानी अपनाउन उपभोक्ताहरूसँग आग्रह गरेको छ।
प्रतिक्रिया