काठमाडौँ, मंसिर ५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजना हुने ‘नेपाल–इन्डिया बिजनेस राउन्ड टेबल’ कार्यक्रममा भारतीय सरकार पक्षको उपस्थिति नहुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले संयुक्त रूपमा तयार पारेको कार्यक्रम तालिकाअनुसार उक्त फोरममा भारतीय उच्च सरकारी अधिकारीहरू सहभागी नहुने निश्चित भएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भोलि आइतबार (मंसिर ६ गते) दिउँसो १:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ। गत चैत १३ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो उहाँको पहिलो औपचारिक विदेश भ्रमण हो।
भ्रमणकै क्रममा मंसिर ६ गते साँझ ७ बजे नयाँ दिल्लीस्थित होटल ताज महलमा नेपाली र भारतीय उद्योगी व्यवसायीहरूको सहभागितामा बिजनेस राउन्ड टेबल आयोजना गरिँदै छ। तयार पारिएको तालिकाअनुसार कार्यक्रमलाई नेपाल सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तय भएको छ।
यसअघि भारतका उद्योग तथा वाणिज्यमन्त्री पियुष गोयलले समेत उक्त फोरमलाई सम्बोधन गर्ने चर्चा रहे पनि अन्तिम तालिकामा उहाँको सहभागिता नरहेको पुष्टि भएको छ। महासंघले नेपालका मन्त्रीहरूले सम्बोधन गर्ने भएकाले भारतका उद्योग वा अर्थमन्त्रीलाई पनि उपस्थित गराउन सीआईआईलाई आग्रह गरेको थियो, तर भारतीय सरकारका उच्च अधिकारीहरू सहभागी नहुने भएका हुन्।
कार्यक्रममा सीआईआई इन्टरनेसनलका सहसंयोजक तथा सन इन्टरनेसनलका अध्यक्ष विक्रमजित सिंह साहनीले स्वागत मन्तव्य राख्नुहुनेछ। त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा र लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्र मन्त्रालयबाट प्राप्त विवरणअनुसार प्रधानमन्त्री शाहको भ्रमण दलसँगै ५२ जना नेपाली उद्योगी व्यवसायीहरूको ‘बिजनेस डेलिगेसन’ टोली पनि नयाँ दिल्ली जाँदै छ।
उक्त व्यावसायिक टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणा, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, महानिर्देशक डा. गोपालप्रसाद तिवारी, कार्यसमिति सदस्यहरू सुनिता नेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल सहभागी हुनुहुन्छ।
त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाणकुमार चौधरी र राजबहादुर शाह, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेसकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुली तथा नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनिल केसी र उपाध्यक्ष करण चौधरी पनि डेलिगेसन टोलीमा समावेश हुनुहुन्छ।
प्रतिक्रिया