रसुवा—भदौ १० गते भोटेकोसी नदीमा आएको भिषण बाढीका कारण रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मजदुर तथा कर्मचारीहरूको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं इन्जिनियर श्रीराम न्यौपानका अनुसार सुरुङको करिब १०५ मिटर भित्रबाट बाहिरपट्टि चिसो हावा आउनुका साथै हावाको दोहोरो बहाब पाइएको छ। नेपाली सेनाको उद्धार टोलीलाई उद्धृत गर्दै न्यौपानले सुरुङभित्र पठाइएको आवाजको प्रतिध्वनि (इको) समेत फिर्ता आएको जानकारी दिएका छन्।
आयोजनाको विद्युत्गृहभित्र करिब ६ जना फसेको आकलन गरिएको छ। उनीहरूलाई सकुशल बाहिर ल्याउन स्वदेशी तथा विदेशी विज्ञसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली निरन्तर खटिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ स्वयं पनि प्राविधिक मार्गदर्शनका लागि कार्यस्थलमै खटिएका छन्।
उद्धार कार्यलाई अघि बढाउन जलविद्युत् गृहभित्र जमेको लेदो फाल्ने काम जारी राखिएको छ भने स्याफ्रुबेँसीदेखि चिलिमे विद्युत्गृह पोर्टलसम्मको अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम भइरहेको छ। कतिपय कठिन भूभागमा सडक खुलाउनका लागि विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरिएको छ। सडक पहुँच सहज बनाउन थप अपरेटर तथा मेसिनका स्पेयर पार्ट्सको व्यवस्था मिलाइएको छ।
उद्धारस्थलमा विद्युत् सेवा र सञ्चार सुचारु गर्न धुन्चेतर्फको बिजुलीलाई ड्रोनको प्रयोग गरी ‘पाइलट वायर’ मार्फत चिलिमे विद्युत्गृहसम्म पुर्याइएको छ। साथै, धुन्चेको एबीसी केबुलबाट स्याफ्रुसम्म हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ।
अहिले उद्धार टोली सुरुङ छिचोलेर मुख्य विद्युत्गृहभित्र छिर्ने अन्तिम प्रयासमा छ। विद्युत्गृहसम्म पुग्न अब करिब दुई सय मिटर मात्र बाँकी रहेको जनाइएको छ। करिब ६० मिटर लम्बाइ, २५ मिटर उचाइ र २० मिटर चौडाइ रहेको उक्त विद्युत्गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया र पर्याप्त बत्तीका लागि ठूलो ब्याट्री बैंकलगायत खाद्य तथा आधारभूत सामग्री भण्डार रहेकाले फसेका व्यक्तिहरू सुरक्षित रहने आशा गरिएको छ।
प्रतिक्रिया