अस्ट्रेलियाका प्रख्यात क्रिकेट खेलाडी डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजबाट खेल्ने भएका छन्। दशैँलगत्तै नेपाल आइपुग्ने तयारीमा रहेका वार्नर एनपीएलको इतिहासमै अहिलेसम्मका सबैभन्दा चर्चित र ठूला विदेशी खेलाडी मानिएका छन्।
अस्ट्रेलियालाई सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप तथा सन् २०२१ को टी-२० विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका वार्नर सन् २०२१ को टी-२० विश्वकपमा ‘प्लेयर अफ द सिरिज’ समेत बनेका थिए। अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदिवसीय र १ि१० टी-२० अन्तर्राष्ट्रिय म्याच खेलेका वार्नरको नाममा ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन दर्ता छ। टी-२० क्रिकेटमा १४२ भन्दा बढीको स्ट्राइक रेटमा ३ हजार २७७ रन बनाएका उनको टेस्टमा ८ हजार ७८६ र एकदिवसीयमा ६ हजार ९३२ रन छ।
पछिल्लो पटक सन् २०२४ को टी-२० विश्वकप खेलेका वार्नरले सन् २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा अविजित ३३५ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। मंगलबार सामाजिक सञ्जालमार्फत नेपाल आउन पाउँदा उत्साहित रहेको र एनपीएलले धेरैलाई खुसी दिलाउने विश्वास व्यक्त गर्दै उनले काठमाडौँबाट खेल्ने पुष्टि गरेका हुन्। काठमाडौँ गोर्खाजले यसअघि नै श्रीलंकाका सहन अराचचिगे र भारतका केएस भरतलाई अनुबन्ध गरिसकेको छ।
प्रतिक्रिया