काठमाडौँ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नेशनल सोलुसन एण्ड रिसर्च सेन्टरले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा ‘राष्ट्रिय संवाद सम्मेलन–२०२६’ आयोजना गरेको छ।
सम्मेलनमा आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य, र सञ्चारमाध्यमको भूमिकाबारे गहन छलफल हुनुका साथै सहभागीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा समग्र मानसिक स्वास्थ्य हेरचाह, मनोवैज्ञानिक परामर्श र सामाजिक सहयोगका विषयमा मनोचिकित्सक डा. निकेशराज भण्डारी, मनोचिकित्सक रामपुकार शाह, र सहप्राध्यापक सुकृता राईले आफ्ना धारणा राखेका थिए।
त्यस्तै, ‘सञ्चारमाध्यम र मानसिक स्वास्थ्य’ शीर्षकको छलफल सत्रमा आत्महत्या, आत्मदाह तथा हिंसाका घटनालाई संवेदनशील र जिम्मेवार ढङ्गले कसरी प्रस्तुत गर्ने भन्ने विषयमा विचारविमर्श गरियो। सो सत्रमा संयुक्त राष्ट्रसङ्घका पूर्वसञ्चारविज्ञ चुनबहादुर गुरुङ, प्रेस काउन्सिल नेपालका सदस्य रविराज बराल, र मनोविद् अलिशा अधिकारीको सहभागिता रहेको थियो।
सम्मेलनअन्तर्गत क्षमता अभिवृद्धिका लागि ‘गेटकिपर’ र ‘मिडिया’ तालिमसमेत सञ्चालन गरिएको थियो:
अभिमुखीकरण: मनोचिकित्सक रामपुकार साहले आत्महत्या रोकथामसम्बन्धी प्राविधिक अभिमुखीकरण प्रदान गरे।
मिडिया तालिम: मनोविद् अलिशा अधिकारीले सञ्चारमाध्यम, आचारसंहिता, र सहानुभूतिपूर्ण समाचार सम्प्रेषणबारे प्रशिक्षण दिएकी थिइन्।
सम्मेलनको उद्घाटन गर्दै ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले जनचेतना अभिवृद्धि, जोखिममा रहेका व्यक्तिलाई समयमै सहयोग, र संवेदनशील समाचार सम्प्रेषणले आत्महत्या रोकथाममा ठुलो योगदान पुर्याउने बताए।
नेसनल सोलुसन एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक पवन पौडेलका अनुसार सम्मेलनमा मनोचिकित्सक, क्लिनिकल तथा काउन्सिलिङ साइकोलोजिस्ट, नर्स, मनोसामाजिक परामर्शदाता, र सामाजिक कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतिक्रिया