• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

  • नेपालको विकासका लागि एडीबीले साढे तीन खर्ब बढी सहयोग गर्ने, प्रधानमन्त्री शाहसँग भेटवार्ता

    नेपालको विकासका लागि एडीबीले साढे तीन खर्ब बढी सहयोग गर्ने, प्रधानमन्त्री शाहसँग भेटवार्ता

    एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि आगामी तीन वर्षमा साढे तीन खर्ब रुपैयाँभन्दा बढी आर्थिक सहयोग परिचालन गर्ने भएको छ। एडीबीले सन् २०२५ देखि २०२९ सम्मको नेपालका लागि कन्ट्री पार्टनरसिप स्ट्राटेजीअन्तर्गत कुल २.४ अर्ब अमेरिकी डलर अर्थात् करिब ३ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने रणनीतिक योजना सार्वजनिक गरेको हो। नेपाल र एडीबीबीचको साझेदारी ६० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा नेपाल भ्रमणमा रहनुभएका एडीबीका अध्यक्ष मासातो कान्दा र प्रधानमन्त्री वालेन्द्र शाहबीच मंगलबार भएको उच्चस्तरीय भेटवार्तापछि बैंकले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। भेटवार्तापछि जारी विज्ञप्तिमा नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा एडीबीले आफ्नो सहयोगको दायरालाई थप विस्तार गर्दै लैजाने र चालू वर्षमा मात्रै वार्षिक ऋण प्रवाह ६६ करोड अमेरिकी डलरसम्म पुग्ने अपेक्षा गरिएको उल्लेख छ।

    प्रधानमन्त्री शाहसँगको भेटपछि अध्यक्ष कान्दाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नेपालका प्रधानमन्त्रीको विकास सम्बन्धी दूरदृष्टिलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न एडीबीको सहयोग परिचालन हुने स्पष्ट पार्नुभएको छ। दुई नेताबीचको छलफलमा नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, व्यवसाय सुदृढीकरण तथा लगानी विस्तारमा आपसी सहयोगलाई अझ मजवुत बनाउने विषयमा गहन विचार विमर्श भएको थियो। अध्यक्ष कान्दाले नेपाल अहिले आफ्नो अर्थतन्त्रलाई अझ गतिशील र उत्थानशील बनाउने ऐतिहासिक मोडमा उभिएको बताउँदै नयाँ रोजगारी सिर्जना र समुदायको जीविकोपार्जनमा सुधार ल्याउनु नै आफूहरूको मुख्य प्राथमिकता रहने प्रष्ट पार्नुभयो।

    अध्यक्ष कान्दाको यसै भ्रमणका क्रममा नेपालको वार्षिक प्रतिबद्धताअन्तर्गत कुल १६ करोड ५० लाख अमेरिकी डलर बराबरका दुई वटा महत्वपूर्ण ऋण सम्झौतामा हस्ताक्षर समेत परिपक्व भएको छ। सम्झौताअनुसार ११ करोड ५० लाख डलर बराबरको परियोजनाबाट नेपालका ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई भरपर्दो एवं सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराइनेछ। यसैगरी, बाँकी ५ करोड अमेरिकी डलर ऋण भने नेपालको सीमावर्ती व्यापार प्रणालीलाई आधुनिकीकरण गर्दै डिजिटलाइजेशन र प्रक्रियागत सरलीकरणमार्फत व्यवसायको लागत घटाउन तथा मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन खर्च गरिनेछ।

    भ्रमणका क्रममा अध्यक्ष कान्दाले नेपालमा सञ्चालित विभिन्न विकास आयोजनाहरूको स्थलगत अवलोकनसँगै उच्चस्तरीय मन्त्रीहरूसँग पनि भेटवार्ता र उद्घाटन कार्यक्रमहरू सम्पन्न गर्नुभएको छ। उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नर्वेका राजदूत डाग्नी म्योससँगै काठमाडौँको विद्युत् आपूर्ति प्रणालीलाई सुदृढ बनाउने दुई वटा सबस्टेशनको भर्चुअल उद्घाटन गर्नुभयो। साथै, २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको विश्व निकेतन स्कूलको अवलोकनका क्रममा उहाँलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्वागत गर्नुभएको थियो। एडीबीले उक्त विद्यालयमा गरिएको सहयोगलाई विपद् जोखिम व्यवस्थापन र मानव पूँजी विकासमा गरिएको लगानीको रूपमा व्याख्या गरेको छ।

    यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको भेटवार्तामा नेपाल सरकारले अवलम्बन गरिरहेको आर्थिक सुधार, व्यावसायिक वातावरण निर्माण, लगानी परिचालन तथा दिगो आर्थिक वृद्धिका प्राथमिकताहरूमा एडीबीले पुर्‍याउन सक्ने सहयोगबारे विस्तृत छलफल भएको छ। आगामी दिनहरूमा एडीबीले गर्ने आर्थिक एवं प्राविधिक सहयोगहरू मुख्य गरी निजी क्षेत्रको विकास, दिगो पूर्वाधार निर्माण, सार्वजनिक सेवा प्रवाहमा सुधार, उत्थानशीलता, एवं महिला तथा सीमान्तकृत र कमजोर समुदायको सशक्तीकरणमा केन्द्रित हुने प्रतिबद्धता बैंकले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ असार २३, मंगलवार १०:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP