पाँचथर — प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूविरुद्ध अपमानजनक शब्द प्रयोग गरी भिडियो उत्पादन तथा सम्प्रेषण गरेको अभियोग लागेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ७ डोबाटेका स्थायी निवासी पोखरेलविरुद्ध दुवै पक्षको बहस सुनेपछि अदालतले उक्त आदेश दिएको हो। जिल्ला सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेपछि यो न्यायिक प्रक्रिया अघि बढेको हो। अदालतकी सूचना अधिकारी सरस्वती नेम्वाङका अनुसार अदालतले यो आदेश गत असार १८ गते नै जारी गरेको हो र जिल्लाको यस आदेश चित्त नबुझेमा प्रतिवादीलाई माथिल्लो अदालतमा पुनरावेदन गर्ने कानुनी अधिकार सुरक्षित रहन्छ।
प्रतिवादी पोखरेलले ‘हेड्स’ (HADES) नामक युट्युब च्यानलका साथै टिकटक र फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालहरूबाट प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र उनीहरूको परिवारलाई लक्षित गरी मान, सम्मान तथा प्रतिष्ठामा गम्भीर आँच आउने अमर्यादित भिडियो र स्टाटसहरू पोस्ट गरेको अभियोग पत्रमा उल्लेख छ। भिडियोमा उनले लामिछानेको पृष्ठभूमि खोतल्दै केवल ‘टिभी इन्टरटेनर’ मात्र भएको टिप्पणी गरेका थिए भने सिंहदरबारमा आगो लगाउने अभिव्यक्तिमा प्रधानमन्त्री बालेनकै भूमिका हुन सक्ने भन्दै गम्भीर आशंका र आक्षेप लगाएका थिए। सोही विषयलाई लिएर उनीविरुद्ध अपमानजनक र अमर्यादित शब्दहरू प्रयोग गरी सामाजिक सद्भाव र प्रतिष्ठामा खलल पुर्याएको जाहेरी दर्ता भएको थियो।
यसअघि प्रहरीले उनलाई गत २०८२ साल चैत २६ गते पक्राउ गरेको भए पनि देशव्यापी विरोध भएपछि चैत २९ गते परिवारको जिम्मा लगाउँदै रिहा गरेको थियो। तर, प्रहरीले आफ्नो अनुसन्धान रोकेको थिएन र अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए सँगै उनीविरुद्ध औपचारिक मुद्दा चलाइएको थियो। अदालतको यो आदेशसँगै अब मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला अदालतमा नियमित सुनुवाइ हुने सूचना अधिकारी नेम्वाङले जानकारी दिनुभएको छ।
प्रतिक्रिया