काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारले किसानलाई आवश्यक मल र बीउ उपलब्ध गराउन नसक्दा जनप्रतिनिधिको रूपमा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कठरियाले समयमा मल उपलब्ध नगराएको भन्दै सरकारको कडा आलोचना गरेकी हुन्। उनले संसद्मा प्रश्न गर्दै हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन भनी प्रश्न गरिन्।
बैठकमा विशेष समय लिएर बोल्दै सांसद कठरियाले एकातिर किसानहरू जति मूल्य तिर्न पनि तयार छौँ भन्दै मलका लागि रोइरहेको र अर्कोतिर सरकार भने गोदाममा मल सुरक्षित छ भन्दै बसिरहेको उल्लेख गरिन्। सरकारको यस्तो रबैया किसानको आँशुको व्यापार गरेजस्तो भएको भन्दै उनले आक्रोस व्यक्त गरिन्। हाम्रा अन्नदाताहरूले रोग र ज्वरो सहन तयार भए पनि भोक र खेतको खडेरी सहन नसक्ने भन्दै मलको माग गरिरहेको तर गोदामको मल खेतसम्म नपुग्नु विडम्बनापूर्ण रहेको उनको भनाइ थियो।
किसानहरूले मलको व्यवस्था गरिदिन भन्दै दैनिक रूपमा सयौँ पटक फोन गरिरहेको र “मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो” भनी आक्रोश पोख्दा आफूहरूलाई निकै पीडा हुने गरेको उनले संसद्मा सुनाइन्। देशका अन्नदाताहरूलाई यसरी तड्पाएर राख्न नमिल्ने भन्दै सांसद कठरियाले तत्काल किसानहरूलाई मल उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। साथै, उनले सरकारले तत्काल किसानसँग क्षमायाचना गर्दै वास्तविक सत्यतथ्य बाहिर ल्याउन र उचित राहत प्याकेज घोषणा गर्न माग समेत गरेकी छन्।
प्रतिक्रिया