काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा विद्यमान सुकुम्वासी समस्याका विषयमा आफू निकै गम्भीर रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा सहभागी भई सिंहदरबारस्थित संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।
संसद् भवनबाहिर सञ्चारकर्मीहरूले ‘अहिले सुकुम्वासीहरूको त रुवाबासी नै भएको छ, उनीहरूलाई खान र बस्न समेत ठुलो समस्या भइसक्यो नि ?’ भनी सोधेको प्रश्नको जवाफमा उनले आफू यस परिस्थितिप्रति जानकार रहेको स्पष्ट पारे। प्रश्नको संक्षिप्त उत्तर दिँदै लामिछानेले भने, “यो विषयमा म एकदमै गम्भीर छु, धेरै नै गम्भीर छु। मैले सुकुम्वासीहरूको परिस्थिति राम्रोसँग बुझेको छु।”
पछिल्लो समय काठमाडौँका विभिन्न नदी किनार र क्षेत्रहरूबाट हटाइएका सुकुम्वासीहरूलाई सरकारले अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो। तर, अहिले होल्डिङ सेन्टरबाट पनि उनीहरूलाई हटाउन खोजिएपछि आश्रयविहीन बनेका सुकुम्वासीहरू ठुलो विचल्लीमा परेका छन्। यही पृष्ठभूमिमा रास्वपा सभापति लामिछानेले यो समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन्।
प्रतिक्रिया