काठमाडौँ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा मङ्गलबार मन्त्रालयका सचिवहरूसँगको छलफलमा उनले सुशासन र वित्तीय अनुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
छलफलका क्रममा अर्थमन्त्री वाग्लेले भने, “हामीले स्पष्ट सोचका साथ काम अघि बढाएका छौँ। सुशासन, सदाचार (इन्टेग्रिटी) र भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता (जिरो टोलरेन्स) को मान्यतामा सरकार एकदमै कडा छ। सम्माननीय प्रधानमन्त्रीज्यू र हामी सबै मन्त्रीहरू जनता र दलप्रति जबाफदेही छौँ भन्ने कुरालाई आत्मसात गर्दै दृढताका साथ अघि बढ्नुपर्नेछ।”
राज्य सञ्चालनमा जबाफदेहिता र पारदर्शिता अनिवार्य हुनेमा जोड दिँदै अर्थमन्त्रीले विगतका पुराना विकृति तथा विसङ्गतिहरूलाई छाड्दै जानुपर्ने बताए। साथै, निजामती कर्मचारीहरूको सामर्थ्य र कार्यसम्पादनका आधारमा उनीहरूलाई प्रोत्साहन (इन्सेन्टिभाइज) गरिने आश्वासनसमेत उनले दिए।
प्रतिक्रिया